शनिबार, ५ जेठ २०८१

चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन : सीमाभन्दा माथिको ऋण पाँच किस्तामा तिर्न सकिने

समयपोष्ट २०७९ पुष २० गते १६:२३

Advertisement

नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ ।

जसमा सीमा भन्दा बढी रहेको कर्जालाई आवधिक कर्जामा रुपान्तरण गरी ५ किस्तामा भुक्तानी गर्नसक्ने व्यवस्था गरिएको छ ।

संंशोधनको मुख्य बुँदामा गत कात्तिक १ गतेभन्दा अगाडि प्रवाह भएको चालु पुँजी कर्जा नविकरण गर्दा सीमा भन्दा बढी भएको अवस्थामा २०८२ असार मसान्तसम्ममा ५ वटा किस्तामा चुक्ता गर्नुपर्ने विषय समेटिएको छ ।

पहिलो किस्तामा १० प्रतिशत, दोस्रो, तेस्रो, चौथोमा २०–२० प्रतिशत र अन्तिम किस्ता ३० प्रतिशत गरेर सो कर्जा चुक्ता गर्नुपर्नेछ ।

Advertisement

यसअघि ५० लाखसम्मको चालु पुँजी कर्जा यो मापदण्ड भित्र समेटिएकोमा अब १ करोडसम्मको कर्जा चालु पुँजी कर्जा मार्गदर्शनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाले प्रदान गर्न सक्नेछन् ।

२ करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा भने अनुमानित वार्षिक कारोबारसम्म मात्र चालु पुँजी कर्जा दिन पाइने छ । अपेरेटिङ साइकल, क्यास कन्भर्सन साइकल, आदिको विश्लेषण गरी विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइदामा सो कारण उल्लेख गरी वार्षिक कारोबारको अधिकतम ४० प्रतिशतसम्म पनि चालु पुँजी कर्जा कायम गर्न सकिने नयाँ संशोधनमा उल्लेख छ ।

२ करोडभन्दा बढी चालु पुँजी कर्जाको लागि भने स्थायी रुपमा चाहिने चालु पुँजी र अस्थिर रुपमा चाहिने चालु पुँजीको आवश्यकता पहिचान गर्नुपर्ने उल्लेख छ । स्थायी चालु पुँजी कर्जाको लागि ३ देखि १० वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्ने संशोधनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले प्रत्येक त्रैमासिकमा एकपटक चालु सम्पत्ति र दायित्वको अनिवार्य निरीक्षण गरी सो प्रतिशत कर्जा अद्यावधिक गर्नुपर्ने र वर्षमा एकपटक आकस्मिक निरीक्षण गर्नुपर्ने समेत संशोधनमा उल्लेख छ । चालु पुँजी कर्जा तिर्नुपर्ने कर्जा समय सीमासम्म नतिरेमा पनि प्रोभिजन गर्न नपर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री