आइतबार, २३ वैशाख २०८१

तीन बैंक र एक बीमासहित पाँच कम्पनीको शेयरमूल्य समायोजन

समयपोष्ट २०७९ पुष १८ गते १०:०३

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन बैंक र एक बीमासहित पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

सोमबार नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, बुटवल पावर कम्पनी र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले नबिल बैंकको १८.५० प्रतिशत, हिमालयन बैंकको ८ प्रतिशत, महालक्ष्मी विकास बैंकको ४ प्रतिशत, बुटवल पावर कम्पनीको ५ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्स्को ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात नबिल बैंकको शेयरमूल्य ७२१ रुपैयाँ १० पैसा, हिमालयन बैंकको ३३८ रुपैयाँ ६ पैसा, महालक्ष्मी विकास बैंकको ३३३ रुपैयाँ ६५ पैसा, बुटवल पावर कम्पनीको ३२२ रुपैयाँ ३८ पैसा र सिद्धार्थ इन्स्योरेन्स्को ५९१ रुपैयाँ ६५ पैसा कायम भएको छ।

Advertisement

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, नबिल बैंकको शेयर ८५४ रुपैयाँ ५० पैसा, हिमालयन बैंकको २६५ रुपैयाँ १० पैसा, महालक्ष्मी विकास बैंकको ३४७ रुपैयाँ, बुटवल पावर कम्पनीको ३३८ रुपैयाँ ५० पैसा र सिद्धार्थ इन्स्योरेन्सको ६४४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

नबिल बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते, शुक्रबार, सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.५० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, हिमालयन बैंकले पुस २८ गते, बिहीबार, साधारण सभा बोलाएको छ।बैंकको तीसौँ वार्षिक साधारण सभा होटल सोल्टी, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ भने सिभिल बैंकको अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ शेयर स्वाप रेशिया अर्थात सिभिल बैंकको १०० कित्ता बराबर हिमालयन बैंकको ८०.२८ कित्ता अनुपातमा शेयर आदानप्रदान गर्ने, प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेडको नाममा एकिकृत कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गर्नेछ।

यसका साथै सभाले ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते, लैनचौर ब्याङ्कवेट, लैनचौर, काठमाडौँमा बिहान १० बजे सभा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजी ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा भित्र्याउने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चुक्ता तथा जारी पूँजी वृद्धि गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, बुटवल पावर कम्पनीले पुस ३० गते, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालक सहित दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सिद्धार्थ इन्स्योरेन्सले लाभांश तथा मर्जरको प्रस्ताव पारित गर्न पुस २९ गते, बिहान ११ बजे, नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप काठमाडौंमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले प्रस्तावित लाभांश सहित सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विषेश प्रस्ताव पारित गर्नेछ। दुई कम्पनी गाभिए पश्चात बन्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी बन्नेछ। यसका साथै सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री