जनसंख्या वृद्धिदर ८० वर्षकै न्यून

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ। अघिल्लो जनगणनाको तथ्यांकभन्दा २७ लाख मात्रै वृद्धि भएको हो। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्रै छ। यो ८० वर्षकै कम वृद्धिदर भएको विभागको तथ्यांकले देखाउँछ। १९९८ सालमा गरिएको चौथो जनगणनाअनुसार नेपालमा जनसंख्या वृद्धिदर १.१६ प्रतिशत थियो। पछिल्लो वृद्धिदर प्रतिशतमा ०.९३ मा झरेको छ। १९९८ साल अघि नेपालको जनसंख्या वृद्धिदर ऋणात्मक थियो। १९९८ को जनगणनापछि अहिले जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा तल झरेको छ।

Advertisement

२०६८ सालको भन्दा ०७८ को जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ ले मात्रै बढी हो। ०६८ सालमा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। १० वर्षमा १०.१८ प्रतिशत जनसंख्या वृद्धि भएको विभागको तथ्यांकमा उल्लेख छ। अघिल्लो जनगणनामा १.३५ प्रतिशत वृद्धिदर थियो। पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) र १ करोड ४९ लाख १ हजार १६९ जना महिला (५१.०४ प्रतिशत) रहेको छ। १० वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ प्रतिशत र ५१.५ प्रतिशत थियो। हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात ९५.९१ छ। जुन गत जनगणनामा ९४.१६ थियो।

१० घरमा १२ परिवार
जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ छ। ती परिवार ५६ लाख ४३ हजार ९ सय ४५ वटा घरमा बसेको तथ्यांकले देखाउँछ। यो तथ्यांकले अनुसार प्रति १० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गरेको देखाउँछ। हालको परिवार संख्या भने १० वर्ष अघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको पाइएको छ। यस अवधिमा जम्मा १३ लाख ३३ करोड ७ सय ५७ वटा परिवार थप भएको छ ।

जनगणनाले प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखाउँछ। २०६८ मा ४.८८ जना थियो। सहरी क्षेत्रको परिवारमा करिब ४.२५ जना छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको तथ्यांकले देखाउँछ। यो तथ्यांक १० वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो। भौगोलिक क्षेत्रअनुसार हिमाली क्षेत्रमा ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको विभागले जनाएको छ। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री