शुक्रबार, ७ वैशाख २०८१

सनराइज बैंकको खुद नाफा ९४ करोड ९४ लाख

समयपोष्ट २०७७ माघ १४ गते १२:३८

Advertisement

सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफामा सामान्य सुधार देखिएको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ०.८३ प्रतिशत बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको ९ करोड ४९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि सञ्चालन मुनाफा सामान्य बढ्न पुगेको हो।

पुस मसान्तसम्ममा ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ र शेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड हुँदा जगेडा कोषमा ३ अर्ब ६८ करोड रुपैयाँ र शेयरधनी कोषमा ७४ करोड ३६ लाख रुपैयाँ सञ्चित थियो।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप २.४२ प्रतिशत बढेर ९२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ७.३४ प्रतिशत बढेर ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा भने सामान्य घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.६९ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १.०६ प्रतिशतमा झरेको छ। समीक्षा अवधिमा बैंकको बेस रेट ९.९९ प्रतिशतबाट ७.२९ प्रतिशतमा झरेको छ भने स्प्रेड ५.१४ बाट ४.१ प्रतिशतमा झरेको छ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसाबाट घटेर २० रुपैयाँ १ पैसामा सीमित भएको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १३.४९ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री