बिहीबार, १५ चैत २०८०

प्रचण्डले ओलीलाई भने : जब तपाईंले तरबार उज्याउनुभयो,लडाइँ हार्नुभयो

समयपोष्ट २०७७ माघ ६ गते २०:४५

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उहाँले संसद्को अन्य गरेर मुलुकलाई निरङ्कुशता र अनिश्चयको भूमरीतर्फ धकेल्ने प्रयास भएको दावी गर्नुभयो । प्रतिनिधिसभा विघटन गरेर सात दशक लामो सङ्घर्षपश्चात् जनताले प्राप्त गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताको प्रतिनिधिद्वारा निर्मित संविधानलगायत उपलब्धिलाई समाप्त पार्ने प्रयास भएको जिकिर गर्दै उहाँले यसलाई हरहालतमा रोक्नुपर्ने बताउनुभयो ।

“कसैले नेपाललाई फेरि अनिश्चयको भूमरीमा लैजाने, मुलुकलाई संविधानहीनताको अवस्थामा पु¥याउने, तानाशाहको हातमा लैजाने प्रयत्न गर्छ भने त्यसलाई रोक्ने दायित्व जनताको हो”, उहाँले भन्नुभयो । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगतको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सञ्चारकर्मीले सङ्घीयता, संविधानसभा र गणतन्त्रको पक्षमा वकालत गरेकै कारण परिवर्तन सम्भव भएको बताउनुभयो ।

परिवर्तनको पक्ष तथा प्रतिगमनको विपक्षमा जनमत निर्माण गर्न पनि सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । “जनताको प्रतिनिधिद्वारा लिखित संविधान बचाउनु छ, परिवर्तनलाई जोगाउनु छ, प्राप्त उपलब्धिको रक्षा गर्न सञ्चार जगतको भूमिका बढेर गएको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी कमिटीको बहुमतको निर्णयलाई सहजै स्वीकार नगर्दा पार्टीभित्र समस्या देखिएको बताउँदै अध्यक्ष दाहालले संसद् विघटन गरेर ओलीले नेपाली जनतालाई धोका दिएको आरोप लगाउनुभयो । “मैले भनेको छु, तपाईंले बाजी हारिसक्नुभयो । लडाइँ हारिसक्नुभयो । संविधानवाद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सार्वभौम नेपाली जनताकाविरुद्ध जब तपाईंले तरबार उज्याउनुभयो । तपाईंले लडाइँ हार्नुभयो । जनताले लडाइँ जित्यो,” उहाँले भन्नुभयो ।

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्रैबाट नेतृत्वमा पुगेको व्यक्तिबाट जनप्रतिनिधिमूलक संस्था विघटन गरिनु नेपाली राजनीतिक इतिहासमा बिडम्वना भएको बताउनुभयो । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगत्को उल्लेख्य भूमिका रहेको स्मरण गर्दै उहाँले सरकारको कदमका विरुद्ध जनतालाई जागृत बनाएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सञ्चारकर्मीलाई आह्वान गर्नुभयो ।

“प्रतिनिधिसभा विघटनबाट सङ्घीयता र परिवर्तन सङ्कटमा परेको छ । यो बेला सही र गलत छुट्याउन सक्नुपर्छ, सत्यको पक्षमा उभिने नै असली नेता हुन्छ, परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको छ”, उहाँले भन्नुभयो । सुन्दर समाजको परिकल्पना साकार पार्न आनदोलन शुरु गरिएको र यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक रहेको पनि उहाँको भनाइ थियो ।

पार्टी स्थायी कमिटी सदस्य एवं केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जनताको आन्दोलनको बलमा समाज र व्यवस्था बदले पनि पार्टीभित्रको प्रवृत्ति बदल्न नसक्दा मुलुक आजको अवस्थामा प्रवेश गरेको बताउनुभयो । उहाँले संसद् विघटनबाट सात दशक लामो जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयतालगायत उपलब्धि खतरामा परेको बताउनुभयो ।

केन्द्रीय कमिटी सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सरकार संसद् विघटन गरेर असंवैधानिक ढङ्गबाट अगाडि बढेकाले प्रेस स्वतन्त्रता पनि खतरामा परेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमबाट संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको महासङ्घको ठहर रहेको गरेको जानकारी दिनुभयो । उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सञ्चार जगतले एकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।

लेखक तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले संसद् पुनःस्थापना नभएमा संविधानवाद नष्ट हुनेमा कुनै शङ्का नभएको उल्लेख गर्दै प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएको नेकपाले बडापत्र जारी गरेर जनतासमक्ष प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । “संसद् पुनःस्थापना भएरै छाड्छ, तर पुनःस्थतापना केका लागि भनेर जनतालाई बुझाउन सक्नुपर्छ, यसमा नेतृत्वको प्रतिवद्धता चाहिन्छ”, उहाँले भन्नुभयो ।

तत्कालीन प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले जननिर्वाचित संस्था संसद् विघटन गरेर प्रधानमन्त्रीले मुलुक र जनतालाई धोका दिएको आरोप लगाउनुभयो । उहाँले सत्य र न्यायको पक्षमा आवाज बुलन्द गर्न पनि सञ्चारकर्मीलाई आह्वान गर्नुभयो ।

चौतारीका पूर्वअध्यक्ष शम्भू श्रेष्ठले सिङ्गो सञ्चार जगत प्रतिनिधिसभा विघटनविरुद्ध उत्रिएको उल्लेख गर्दै अहिलेको लडाइँ सङ्घीय लोकतान्त्रक गणतन्त्रको रक्षा गर्ने र नगर्नेका बीचमा भएको बताउनुभयो । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले नेपाली जनताले निरङ्कुशता कहिल्यै पनि नसहेको र प्रतिनिधिसभा विघटन भित्रको अन्तर्य सही नभएको बताउनुभयो । वर्तमान सरकार गठन भएदेखिनै सञ्जार जगत्लाई अप्ठ्यारोमा पार्न खोजिएको र विभिन्न कानून ल्याएर सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने कोसिस गरिएको तर्क गर्नुभयो ।

वरिष्ठ पत्रकार ओम शर्माले जननिर्वाचित संस्था विघटन गर्न अग्रसर हुने सरकारबाट पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत हुनेमा आशङ्का व्यक्त गर्नुभयो । परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकारले संविधानको रक्षार्थ दृढताका साथ लाग्नुपर्नेमा जोड दिँदै उहाँले जनताको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।

सामुदायिक रेडियो प्रचारक सङ्घ (अको¥याब) का अध्यक्ष सुवास खतिवडाले प्रतिनिधिसभा विघटन गरेर सरकारले संविधानको भावनामाथि अन्याय गरेको तर्क गर्नुभयो । प्रगतिशील पत्रकार सङ्घ नेपालका पूर्वअध्यक्ष नारायण शर्माले जनताको पक्षमा वकालत गर्ने कम्युनिष्ट पार्टीको नेतृत्वबाटै प्रतिनिधिसभा विघटन हुनु दुभाग्यपूर्ण रहेको बताउनुभयो । आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न सबै पत्रकार एकजुट हुनुपर्ने बताउनुभयो ।

महासङ्घका पूर्वसचिव सङ्गीता खड्काले पूर्ण प्रेस स्वतन्त्रताका लागि सम्पूर्ण पत्रकार एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत प्रेस सङ्गठनमा प्रवेश गर्नुभएको थियो । उहाँलाई सङ्गठनका संयोजक महेश्वर दाहालले स्वागत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री