शुक्रबार, ७ वैशाख २०८१

विपत्तिबाट बच्न र बचाउन राज्यले तलसम्म संरचना निर्माण गरेको छ : गृहमन्त्री थापा

rss २०७७ माघ २ गते १९:४०

Advertisement

गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन सबैमा दृढ सङ्कल्प आवश्यक रहेको बताउनु भएको छ ।

‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आज आयोजना गरेको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन गर्दैै उहाँले भूकम्पबाट आफ्नो सुरक्षा आफैले गर्ने भएकाले दृढ सङ्कल्प आवश्यक रहेको बताउनु भएको हो ।

“हरेक वर्ष नयाँ सङ्कल्प गर्दै आएका छौँ, भूकम्प विरुद्ध दृढ सङ्कल्पसहित उभिने छाँै, सचेत रहने छाँै भन्ने सङ्कल्प यसवर्ष पनि ग¥याँै”, उहाँले भन्नुभयो, “भूकम्पको सामना गर्न सचेतना, जागरण फैलाउँदै जागरुक भएर ज्ञान हासिल गर्न सक्यौँ भने यसको जोखिमबाट आफूलाई रक्षा गर्न सक्छौँ ।” भविष्यमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन चुनौतीको सामना गर्दै परस्पर समन्वय, सहकार्य तथा सहयोग आवश्यक रहेको छ भन्दै उहाँले आगामी दिनमा आउन सक्ने विपत्तिको सामना गर्न पूर्वतयारी आवश्यक रहेको औँल्याउनुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो, “विपत्तिबाट बच्न र बचाउने उद्देश्यले राज्यले माथिदेखि तलसम्म विभिन्न संरचना निर्माण गरेको छ, विभिन्न सङ्घसंस्था गठन गरेको छ, लाखौँको सङ्ख्यामा स्वयंसेवक गठन गर्दैछ, यिनीहरुको बीच पनि समन्वय, सहकार्य र सहयोग गरे मात्रै जोखिम न्यूनिकरण गर्न सक्छौँ ।” उहाँले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको छ भन्दै यस प्रकारको दिवसले पनि आमनागरिकमा यसबाट बच्न आउँदो पिँढीसमेतलाई सचेतना प्रदान गर्ने बताउनुभयो । त्यसअवसरमा गृहमन्त्री थापाले भूकम्प सुरक्षा डिजिटल प्रर्दशनीको उद्घाटनसमेत गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालिले ०७२ सालको भूकम्पमा भएको क्षतिमध्ये ९१ प्रतिशत जनताले निजी आवासको पुनःनिर्माण सम्पन्न गरेको बताउदै सरकारले तीन लाख अरु लगानी जनता आफँैले गरेको बताउनुभयो । उहाँले सात हजार ५५३ विद्यालय पुनःनिर्माण हुनुपर्नेमा करिब छ हजार सम्पन्न भएको, करिब ९२० सम्पदा पुनःनिर्माण गर्नुपर्नेमा ६१ प्रतिशत सम्पन्न भएको भन्दै अहिले बनेका करिब आठ लाख घर सु्रक्षित घर बनेको बताउनुभयो ।

ज्ञवालीले जनताले अहिले भूकम्पबाट कसरी सुरक्षित रहने भन्ने जानेको, एक लाख तालिम प्राप्त निर्माणकर्मी उत्पादन भएको, सात हजार तालिम प्राप्त इन्जिनियर तयार भएको बताउदै क्षतिसँगै भूकम्पले धेरै पाठ सिकाएको भनाइ राख्नुभयो । त्यसअवसरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीलगायतले भूकम्पको जोखिम र सुरक्षाको अवस्थाकाबारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमका सभापति एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भूकम्पको जोखिमबाट बच्ने र बचाउने सन्दर्भमा स्थानीय निकायले पनि सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री