शुक्रबार, १६ चैत २०८०

सोलारले हट्यो टुकीको भर

समयपोष्ट २०७६ माघ ११ गते ११:३२

Advertisement

यहाँका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निःशुल्क सोलार जडानपछि खुशी ल्याएको हो ।

नगरपालिका–१३ छेर्लुङका ४७ घरपरिवारमा सोलार जडान गरिएको हो । कालीगण्डकी नदी नजिकैको बस्तीमा वर्षांैदेखि विद्युत्को पहुँच बाहिर रहेका बस्ती अँध्यारोमा नै रात बिताउनुपर्ने बाध्यतामा थिए । यहाँका २२ बोटेमाझी, चार दलित र अन्य जातिका घरमा सोलार जडान गरी उज्यालो बनाउने काम सम्पन्न भएकोे तानसेन नगरकार्यपालिका सदस्य कमला भण्डारीले बताउनुभयो ।सोलार जडानपछि रातमा घरभित्र र बाहिर उज्यालोसँगै मोबाइल चार्ज, रेडियो, टिभीलगायतका आमसञ्चारमा यहाँका स्थानीयवासीको पहुँच विस्तार भएको छ ।

टुकी बाल्दा पैसा धेरै खर्च हुँदा यहाँका स्थानीयवासी चिन्तित थिए । नगरपालिकाले घरमा निःशुल्क सोलार बत्ती जडानगरेपछि मोमाइल चार्ज, बालबालिकाको पठनपाठन, सञ्चार तथा नियमित घरायसी काम निकै सहज बनेको छ । सोलार जडानले मासिक खर्चसमेत कम भएको र महिलालाई टुकीकै भरमा खाना पकाउनुपर्ने बाध्यता हटेको वडासदस्य राधा विश्वकर्माले बताउनुभयो । माझी समुदायमा नगरपालिकाले निःशुल्क सोलार जडान गरेपछि स्थानीय ओमबहादुर माझी खुशी हुनुहुन्छ । “टुकी उज्यालोभन्दा सोलारको उज्यालो राम्रो लाग्यो, टुकीले स्वास्थ्यमा असर हुने र खासै उज्यालो हँुदैनथ्यो”, माझीले भन्नुभयो ।

छेर्लुङका होमनाथ भट्टराईले वर्षौंदेखि रातको समयमा उज्यालोमा बस्ने रहर पूरा भएको बताउनुभयो । छ दशक उमेर पार गर्नुभएका भट्टराईले सोलारको उज्यालोले रातमा घरायसी काम गर्न सहज भएको बताउनुभयो । “सोलारले गाउँ नै उज्योलो बनेको छ । विवाह, व्रतबन्धलगायतका शुभकार्यसमेत उज्यालोका कारण सजिलो हुँदै आएको छ”, भट्टराईले बताउनुभयो । स्थानीयवासी पुरन विकले बालबालिकालाई साँझ लेखपढ गर्न सजिलो भएको बताउनुभयो । टुकीकै भरमा रातिमा पढ्दा धुवाँले अनुहार पनि कालो हुने र स्वास्थ्यमा समेत असर गरेको स्थानीयवासीको भनाइ छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री