शुक्रबार, १४ वैशाख २०८१

बैङ्किङ क्षेत्रमा दक्ष जनशक्ति व्यवस्थापनमा निकै चुनौती देखिएको छ : माछापुच्छ्रे बैङ्कका डेपुटी सीईओ कोइरालाको अन्तर्वार्ता

समयपोष्ट २०७६ माघ १० गते ११:२३

Advertisement

माछापुच्छ्रे बैङ्कको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

माछापुच्छ्रे बैङ्कले यो आर्थिक वर्षलाई आक्रामक व्यवसाय विस्तारको वर्षका रूपमा लिएको छ । पहिलो त्रैमास सम्मको अवस्था हेर्दा व्यावसायिक एवं शाखा विस्तारमा बैङ्कले उल्लेख्य प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को पहिलो त्रैमाससम्म बैङ्कले रु. ८.५ अर्ब कर्जा प्रवाह गरेर कुल कर्जा ८६ अर्ब पुर्याएको छ भने सोही अवधिमा ६.०७ अर्ब निक्षेप सङ्कलन एवं रु. ३ अर्ब बराबरको ऋणपत्र पूर्ण रूपमा बिक्री गरी कुल ९.०७ अर्ब बराबरको स्रोत जुटाउन सफल भएको थियो । यसरी हेर्दा समग्रमा बैङ्कले यो आर्थिक वर्षको पहिलो त्रैमाससम्म रु. ९१ अर्ब २७ करोड निक्षेप तथा ८३ अर्ब ६३ करोड कर्जा लगानी गर्न सफल भएको छ । आक्रामक व्यवसाय वृद्धिमा रहेको हाम्रो बैङ्कको अर्को महत्वपूर्ण एवं बलियो पक्ष छ, त्यो हो न्यूनतम निष्क्रिय कर्जा । आ.व. २०७६/७७ को पहिलो त्रैमास सम्ममा बैङ्कको निष्क्रिय कर्जा ०.३१ प्रतिशत मात्र रहेको थियो । जुन ग्राहकले बैङ्कलाई गर्ने विश्वासको बलियो आधारका रूपमा रहेको छ । वित्तीय सूचकाङ्क मात्र होइन संस्थागत सुशासन र नेपाल राष्ट्रको निर्देशन पालनाको सन्दर्भमा माछापुच्छ्रे अब्बल बैङ्क हो ।

माछापुच्छ्रे बैङ्क अत्याधुनिक प्रविधि सहितका सेवा सुविधा प्रदान गर्ने कुरामा पनि बैङ्कले निकै फड्को मारेको छ ।

त्यतिमात्र नभएर माछापुच्छ्रे बैङ्क अत्याधुनिक प्रविधि सहितका सेवा सुविधा प्रदान गर्ने कुरामा पनि बैङ्कले निकै फड्को मारेको छ । जसको पछिल्लो उदाहरण हो अन्तर्राष्ट्रिय प्रविधिमा आधारित ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ जस अन्तर्गत ग्राहकले जुनसुकै समयमा जहाँकहीबाट एक कल फोन गरेको आधारमा बैङ्कको सेवा सुविधाका बारेमा जानकारी लिन सक्नुहुनेछ । त्यस्तै बैङ्कको मोबाइल बैङ्किङ एप्लिकेसन ‘मोबाइल मनी’ मार्फत पनि आफूले चाहेको बैङ्किङ कारोबार बिना कुनै झन्झट सजिलै गर्न सकिन्छ ।

माछापुच्छ्रे बैङ्क शाखा विस्तारमा निकै आक्रामक देखिन्छ, त्यो हिसाबमा बिजनेस वृद्धि गर्न कत्तिको चुनौती छ ?

माछापुच्छ्रे बैङ्कले हाल आफ्नो शाखा विस्तार गरी १४५ बनाएको छ । जुन तरिकाले शाखा विस्तार भएको छ, त्यस हिसाबले हाम्रो बिजनेसमा पनि राम्रो वृद्धि भएको छ । वित्तीय पहुँच नभएका स्थानमा पनि हामी उत्तिकै प्रभावकारी ढङ्गले शाखा विस्तार गरी त्यहाँका स्थानीय बासिन्दालाई पनि बैङ्किङ सेवा सुविधा प्रदान गर्न सफल भएका छौँ ।

शाखा खोल्ने बित्तिकै बिजनेस वृद्धि हुने भन्ने हुँदैन । क्रमिक रूपमा वृृद्धि हुन्छ । भविष्यमा पाउने प्रतिफलको अनुमान गरेर नै शाखा खोलिएका हुन्छन् । कतिपय शाखा व्यावसायिक दृष्टिकोणले भन्दा पनि सेवाभावबाट नेटवर्क विस्तार गर्ने धारणामा पनि खोलिएका हुन्छन् । जुन कुरा हामी बिजनेसको हिसाबले भन्दा पनि सेवा सुविधाको हिसाबले हेरिरहेका छौँ ।

दक्ष जनशक्ति र उपर्युक्त व्यवस्थापन हुने हो भने व्यवसाय वृद्धिमा त्यति धेरै चिन्ता लिइरहनुपर्दछ जस्तो मलाई लाग्दैन किनकि दक्ष जनशक्तिले हामीलाई कुनै न कुनै रूपमा प्रतिफल दिइनैरहेका हुन्छन् ।

आजका दिनमा बैङ्किङ क्षेत्रको चुनौती भनेको व्यापार वृद्धिभन्दा पनि कर्मचारी व्यवस्थापन देखिएको छ । दक्ष जनशक्ति छनोट गर्ने र उनीहरूको व्यवस्थापनमा निकै चुनौतीे देखिएको छ । दक्ष जनशक्ति र उपर्युक्त व्यवस्थापन हुने हो भने व्यवसाय वृद्धिमा त्यति धेरै चिन्ता लिइरहनुपर्दछ जस्तो मलाई लाग्दैन किनकि दक्ष जनशक्तिले हामीलाई कुनै न कुनै रूपमा प्रतिफल दिइनैरहेका हुन्छन् ।

अहिले कर्जाको माग खुम्चिएको छ भनिन्छ, तपाईंको बैङ्कको अवस्था के छ ?

साउनदेखि असोज सम्ममा हामीले विभिन्न क्षेत्रमा करिब ८.५ अर्ब लगानी गरिसकेका छौँ । सो लगानी अरू बैङ्कको लगानीसँग तुलना गर्ने हो भने धेरै राम्रो लगानी हो । बैङ्किङ क्षेत्रमा हाल आएर स्रोतको अभावका कारण ऋण विस्तार केही खुम्चिएको जस्तो देखिए पनि त्यसले हामीलाई खासै असर गरेको छैन । अहिले पछिल्लो समयमा आएका राष्ट्र बैङ्कका विभिन्न निर्देशनका कारणले तत्काल व्यक्तिगत कर्जा तथा साना एवं मझौला कर्जाको माग कम हुने देखिन्छ ।

हाल बजारको आकार र बजारमा केही समयदेखि देखिएको तरलता अभावको समस्या हेर्ने हो भने अझै केही समय ब्याजदर स्थिर र अनुमान योग्य हुनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।

कर्जाको माग कम भएपछि यसले तत्काल ब्याजदरलाई प्रभाव पार्ने सम्भावना कत्तिको छ ?

हाल कर्जाको माग कम देखिए पनि समग्रमा हेर्ने हो भने तत्कालै ब्याजदर घट्ने सम्भावना कम छ । कर्जाको माग बढी भएपछि तरलतामा चाप पर्छ र तरलतामा चाप परेपछि ब्याजदर केही तल–माथि हुनु स्वाभाविक पनि हो । हाल बजारको आकार र बजारमा केही समयदेखि देखिएको तरलता अभावको समस्या हेर्ने हो भने अझै केही समय ब्याजदर स्थिर र अनुमान योग्य हुनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।

बिग मर्जरको सुरुवात भएको छ, यो कत्तिको दिगोपन होला, तपाईंको बैङ्कको योजना के छ ?

सर्वप्रथम मर्जर केका लागि भन्ने बुझ्न जरुरी छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैङ्कले बिग मर्जरलाई प्रोत्साहित गर्न खोजेको जस्तो देखिएको छ । हामी पनि मर्जरका लागि खुला छौँ र उपयुक्त साथी र समयको पर्खाइमा छौँ ।

प्रविधिको विकाससँगै सुरक्षा चुनौती पनि बढेका छन्, यसलाई कम गर्न के गर्नुपर्छ ?

अहिले जुन तरिकाले हाल विज्ञान र प्रविधिको क्षेत्रमा विकास एवं विस्तार भएको छ यसले सकारात्मक र नकारात्मक दुवै प्रभाव पारिरहेको छ । पछिल्लो समयका केही घटनाले बैङ्किङ जगत्लाई धेरै नै पाठ सिकाएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विकास एवं विस्तार हुनु धेरै राम्रो कुरा हो यसले समग्र राज्यको विकासमा नै मुख्य भूमिका खेल्छ यद्यपि यसले सुरक्षा चुनौती पनि बढाउँदै लान्छ । हाल हाम्रा लागि चुनौती भनेको विकास र विस्तार भइरहेका प्रविधिलाई कसरी व्यवस्थापन गर्ने र कर्मचारीलाई यसका बारेमा कसरी पोख्त बनाउने भन्ने नै हो । सबैभन्दा पहिले कर्मचारी आफै प्रविधिमैत्री हुनु जरुरी छ जब कर्मचारी नयाँ नयाँ प्रविधिका बारेमा जानकार हुन्छन् तब ग्राहकलाई उक्त प्रविधिका बारेमा जानकारी दिन र त्यसको सुरक्षा चुनौतीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय सहज हुन्छ जस्तो मलाई लाग्छ । प्राविधिक सुरक्षाको विषयमा सबैभन्दा पहिले कर्मचारीलाई ज्ञान दिन सके भविष्यमा देखापर्ने विभिन्न जोखिम न्यूनीकरण गर्न सहज हुने देखिन्छ ।

हाल हाम्रा लागि चुनौती भनेको विकास र विस्तार भइरहेका प्रविधिलाई कसरी व्यवस्थापन गर्ने र कर्मचारीलाई यसका बारेमा कसरी पोख्त बनाउने भन्ने नै हो ।

राष्ट्र बैङ्कले व्यक्तिगत घर र सवारी कर्जा दिँदासमेत आम्दानीको स्रोत र करचुक्ता प्रमाणपत्र बुझाउनुपर्ने निर्देशन जारी गरेको छ । यसले कस्तो प्रभाव पार्छ ?

अल्पकालीन विश्लेषण गर्ने हो भने यसले नकारात्मक असर गरेको देखिन्छ । दीर्घकालीन रूपमा यसले देशको अर्थतन्त्रलाई राम्रो टेवा पुर्याउनेछ । दुई वासलात राखी आफ्नो व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायीले राष्ट्र बैङ्कद्वारा पछिल्लो निर्देशन पालना गर्न कठिन भएसँगै व्यक्तिगत कर्जाको माग बढ्दो देखियो । सो कर्जाको किस्ता र ब्याजको स्रोत, घरबहाल, व्यवसायबाट तलब जस्ता कागजात पेस गरी कर्जा उपभोग गर्न थालेको देखिएपछि यो निर्देशन जारी भएको जस्तो देखिन्छ र यसको रोकथाम गर्न जरुरी पनि थियो । यसो गर्दा करको दायरामा नभएका आम्दानीका स्रोत पनि करको दायरामा आउनेछन् भन्ने लाग्छ ।

रोग लागेर औषधि खानुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ भन्ने अवधारणामा यी नीति नियमन आएका होलान् जस्तो लाग्छ ।

राष्ट्र बैङ्कले विभिन्न समयमा जारी गरेका नीति र निर्देशन हेर्दा ‘नियमन कि नियन्त्रण’ भन्ने प्रश्न उठेको छ ? साच्चिकै नीतिगत विषयमा बैङ्करले असहज परिस्थिति भोग्नुपरेको हो ?

नियमन वा नियन्त्रण भन्नुभन्दा पनि यसले भविष्यमा सम्पूर्ण अर्थतन्त्रमा ल्याउने सकारात्मक असरको मूल्याङ्कन गर्न जरुरी छ । रोग लागेर औषधि खानुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ भन्ने अवधारणामा यी नीति नियमन आएका होलान् जस्तो लाग्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री