बिहीबार, १५ चैत २०८०

पाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव

समयपोष्ट २०७६ पुष २९ गते १४:३९

Advertisement

पाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भएको छ । जिल्लाका आधारभूत विद्यालयमा २६८ शिक्षक, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा २४९ र (कक्षा ११–१२) मा ६१ शिक्षकको अभाव छ ।

जिल्लामा ४४० प्राथमिक शिक्षक बढी रहेको शिक्षा विकास समन्वय इकाइ पाल्पाको दाबी छ । प्रावि तहका शिक्षक जिल्ला बाहिर पठाउने गरी इकाइले गृहकार्य थालेको छ । शिक्षक अभाव रहेका विद्यालयप्रति सरकारको चासो पुग्न नसक्दा विद्यालय र शिक्षक मर्कामा परेका छन् ।

जिल्लाका माध्यमिक तथा आधारभूत तहमा शिक्षक दरबन्दीबिना सञ्चालन हुँदा पठनपाठन प्रभावकारी हुन सकेको छैन । आधारभूत तह र माविका कक्षा सञ्चालन गर्न अनुमति दिएपछि शिक्षक दरबन्दीको व्यवस्थापन हुनसकेको छैन । विसं २०६६ देखि विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्था हुनसकेको छैन । शिक्षा विकास समन्वय इकाइ पाल्पाका शाखा अधिकृत विष्णु बेल्बासेका अनुसार शिक्षक दरबन्दीको व्यवस्थापन नहुँदा माथिल्ला कक्षामा पढाउने शिक्षकको अभाव भएको छ ।

शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयको शौक्षिक गुणस्तर कमी देखिएको हो । इकाइका शाखा अधिकृत विष्णु बेल्बासेले पाल्पा जिल्लामा १२ माध्यमिक तथा ३६ आधारभूत तहका विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएको बताउनुभयो ।

मावि तथा आधारभूत तहका विद्यालयमा शून्य दरबन्दी कक्षा सञ्चालन हुँदा विषयगत शिक्षकको अभावमा छ । करार तथा निजी शिक्षका भरमा सञ्चालित छन् । जिल्लाका ४८ सामुदायिक विद्यालयको अवस्था निजी तथा करारका शिक्षकका भरमा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । सरकारले आधारभूत र मावि तहमा थप शिक्षकको व्यवस्थापन नगर्दा समस्या भएका छन् ।

सरकारी दरबन्दी अभावसँगै विद्यालयलाई निजी तथा करारका शिक्षक पाल्नुपर्ने बाध्यता रहेका छन् । स्थानीय तहले अनुदानमा केही शिक्षक पालिए पनि अधिकांश शिक्षक विद्यार्थीबाट नै शुल्क उठान बाध्य छन् । सरकारले आधारभूत तहको शिक्षा अनिवार्य भनिए पनि विद्यालयले शुल्क लिने गरेको पाइन्छ ।

तिनाउ गाउँपालिकामा तीन मावि, रैनादेवीछहरा गाउँपालिकामा तीन माविमा शून्य दरबन्दी छ । निस्दी, बगनासकाली र तानसेन नगरपालिकामा समेत शिक्षकको दरबन्दीबिना नै कक्षा सञ्चालनमा छन् । शिक्षक अभावमा विषयगत शिक्षक बिना नै पढाइ हुँदा शिक्षा क्षेत्रमा गुणस्तरीयतामा कमी देखिएको छ ।

पाल्पा जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । रामपुर नगरपालिका दुई, तानसेन नगरपालिका दुई आधारभूत तहका विद्यालयमा शून्य दरबन्दीमा पठनपाठन हुँदै आएको छ । त्यसैगरी बगनासकाली गाउँपालिकामा एक, पूर्वखोला गाउँपालिका पाँच, निस्दी गाउँपालिका बाह्र, रम्भा गाउँपालिका एक, रैनादेवीछहरा गाउँपालिका सात, रिब्दीकोट गाउँपालिका दुई, तिनाउ गाउँपालिका दुई विद्यालयका अवस्था पनि उस्तै छ ।
सामुदायिकतर्फ ११७ मावि सञ्चालनमा छन् । सामुदायिक विद्यालयको गुणस्तर कमजोर हुँदै गएपछि विद्यार्थीको आकर्षण हुन सकेको छैन । यहाँका कक्षा १ देखि ५ मा २० जना विद्यार्थी भेटाउन मुस्किल हुँदै आएको पाइन्छ । सरकारले वर्षेनी शिक्षा क्षेत्रमा लगानी गरेपनि विद्यार्थी आकर्षणको केन्द्रविन्दु सामुदायिक विद्यालय बन्न नसक्दा शिक्षाप्रेमी चिन्तित छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री