‘मर्जरविनाको पुँजी वृद्धिले बिजनेस ल्याउँन सक्दैन खाली पुँजीमात्र ल्याउँछ’
भिभोर सोसाईटी डिभलपमेन्ट बैंकको वित्तीय अवस्था कस्तो छ ?
भिभोर सोसाईटी डिभलपमेन्ट बैंक भनेको भिभोर विकास बैंक र सोसाईटी डिभलपमेन्ट बैंक आपसमा मर्ज भएर बनेको बैंक हो । यो नेपालकै सबैभन्दा ठूलो विकास बैंकका रूपमा रहेको छ । यस बैंकको चुक्ता पुँजी हाल १ अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ । हामी चुक्ता पुँजीको हिसाबले मात्र नभई हाम्रा विभिन्न वित्तीय रिजल्टहरूका हिसाबले पनि निकै नै अगाडि छौं । हाम्रो कारोबारको आम्दानी, मुनाफा, निक्षेप, कर्जा सबै वृद्धि भइरहेका छन् ।
पुँजीका आधारमा यो बैंक सबैभन्दा ठूलो बैंक भएको छ ? अब बाँकी पुँजी कसरी वृद्धि गर्दै हुनुहुन्छ ?
हाम्रो मान्यता भनेको पुँजी वृद्धि गर्न मर्जर गर्नुपर्छ । पुँजी वृद्धि अन्य उपायले पनि गर्न सकिन्छ । हकप्रद सेयर पनि जारी गर्न सक्थ्यौं। तर, हामीले बढी चाहेकोे मर्जर अथवा एक्विजिसन नै हो । अन्य कुनै संस्थालाई हामीमा गाभ्ने वा हामी आफैं गाभिने वा कुनै संस्थालाई एक्वायर गरेर पुँजी वृद्धि गर्ने हाम्रो योजना छ । मर्जरविनाको पुँजी वृद्धि पूर्ण हुँदैन । किनभने त्यसले बिजनेस ल्याउँदैन खाली पुँजीमात्र ल्याउँछ । फेरि त्यसलाई बिजनेस खोज्नुपर्छ । मर्जर वा एक्विजिसनको साथमा केही न केही धेर–थोर बिजनेस, नेटवर्क आउँछ । त्यसकारण हाम्रो पुँजी वृद्धि गर्ने उपाय भनेको अहिलेका लागि मर्जर नै हो ।
अहिले देखिएको तरलता अभावका कारण के होला ?
तरलता अभावका एउटै मात्र कारण नभई विविध कारणहरू हुन सक्छन् । एउटा कारण भनेको कर्जाको जुन वृद्धि छ, त्यो अलि छिटो र बढी छ । हामीले तीव्र रूपमा धेरै कर्जा वृद्धि गर्यौं । यो अगाडिका कारण भयो । त्यसको पृष्ठभूमिका अन्य कारणहरू पनि छन् । त्यो कर्जा वृद्धि हुन के कारणले प्रोत्साहन ग¥यो । कर्जा वृद्धि गर्नुपर्ने कारणहरू के भए । कसले किन गरे । त्यो कुरा पनि हामीले हेर्नुपर्ने हुन्छ । हामीले कर्जा वृद्धि भएर रिपोटेड्ली के भनिन्छ भने राष्ट्र बैंकले राखेको बीस प्रतिशत कर्जा वृद्धिको वार्षिक असार मसान्तसम्मको जुन लक्ष्य थियो, त्यो छ महिनामै उनन्तीस प्रतिशत बढेर त्यसलाई सरपास गरिसक्यो । त्यसले त समस्या ल्याएकै हो । त्यसको साथमा हकप्रद सेयरहरू धेरै जारी भए । हकप्रद सेयर जारी भएपछि हामीसँग निक्षेपका रूपमा भएको पैसा पुँजीका रूपमा परिवर्तन भयो । त्यो हकप्रद सेयरमा वाणिज्य बैंकमा हाल्नेहरूले जति पैसा हाले, त्यो पैसा सिधै इक्विटीका रूपमा गयो । पेडअफ क्यापिटलका रूपमा गयो । पेडअफ क्यापिटलका रूपमा जाँदा निक्षेप घट्यो । अर्को हकप्रद सेयर जारी भएपछि त्यो हकप्रद सेयरमा त हाल्नुपर्यो । हाल्दा मान्छेको डिपोजिट खातामा छ भने निकालेर हाल्यो डिपोजिटमा नभए कसरी हाल्ने त भन्दा कर्जा लिएर हाल्नुपर्यो । त्यसो गर्दा कर्जा पनि बढ्यो । हकप्रद सेयरमा पैसा हाल्नका लागि कर्जा लिनेक्रम बढ्यो । अर्कोतर्फ खातामा भएको निक्षेप घट्नेक्रम पनि बढ्यो । यसले गर्दा दोहोरो असर पर्न गयो । निक्षेप घट्ने कर्जा बढ्ने ।
यसरी दोहोरो चाप पर्दा सिसिडि रेसियोमा असर पार्यो, अर्कोतिर सरकारले विकास खर्च गर्न सकेन । सरकारले पैसा लगेर राखिमात्र रहने खर्च नगर्ने गर्दा आर्थिक क्रियाकलापहरूमा जुन डिपोजिटका रूपमा आउनुपर्ने थियो, त्यो सोर्सहरू लाइभली हुन सकेन । अर्को भनेको रेमिट्यान्सको ग्रोथ हुन सकेन । अघिल्लो वर्षहरूमा जति रेमिट्यान्सको वृद्धि थियो, त्यो वृद्धि अहिले छैन । अर्को भनेको केही समयअघिसम्म हाम्रा सीमाहरूमा भारतीय रुपैयाँको कारोबारहरू हुने गरेका थिए । अहिले भारतीय रुपैयाँ भन्दा बढी नेपाली रुपैयाँको कारोबार हुने गरेको छ । भारतीय रुपैयाँ संग्रह गरेर राख्ने व्यक्तिले नेपाली रुपैयाँ संग्रह गरेर राख्न थाल्यो । भारतीय पाँच सय र हजारका नोटहरू प्रतिबन्ध भइसकेको अवस्थामा त्यसलाई रिप्लेस गरेर राख्ने अन्य मुद्राहरू छैन । नेपाली रुपैयाँ सीमाक्षेत्रमा कारोबार हुँदा जुन भारतीय रुपैयाँमा हुन्थ्यो । नेपाली बजारकाले पनि मूलभूत रूपमा भारतीय रुपैयाँ नै राख्थे उनीहरूले पनि अहिले जिन्सी राख्न थालेका छन् । अहिलेको तरलता संकटका कारण यिनीहरू नै हुन् ।
यसको समाधानका उपायहरू के हुन सक्छन् ?
अब जे भयो त्यो भइसक्यो अब हामीले कति कुराहरू आफैं सुधार्न सक्छौं क्रेडिट टोटल्ली बन्द हुन्छ । कर्जा त दिन सकिँदैन । कर्जा दिन नसकेपछि जुन रिप्यरमेन्ट आउँछ, क्रमशः रिप्यरमेन्ट आउने कुराले कर्जा घट्दै जान्छ । त्यसले निक्षेपको रूप लिन सक्छ । फ्लो ओभर प्रोफिट हुन जान्छ । अर्को निक्षेपमा भएको ब्याज फेरि निक्षेपका रूपमा आउँछ । त्यसको साथै कति जनाले यो बेलामा ब्याजदर बढेको हुनाले पैसा बैंकिङ क्षेत्रमा ल्याउने हुन सक्छ । त्यो एउटा पाटो भयो । अर्को पाटो भनेको हामीलाई भनेअनुसार सरकारले फेरि खर्च बढाइहाल्छ, ल्याइहाल्छ । विकास खर्च हुन्छ यो अस्थायी हो भन्ने कुराहरू पनि आइरहेको छ । राष्ट्र बैंक र सरकारका प्रवक्ताहरूको पनि त्यही धारणा आइरहेको छ । त्यसकारण त्यो दायराभन्दा बाहिर गएर खर्च गर्ने भन्ने कुराहरू भइरहेको छ ।
अर्को भनेको बैंकिङ क्षेत्रमा राम्रोसँग विश्लेषण गरेर हामीले कस्तो किसिमको ग्रोथ चाहेको, के पेडअफ क्यापिटल बढाएर साथसाथै त्यसमा अवाञ्छित प्रकारको जोखिम नआओस् भन्नका लागि फेरि त्यसलाई विश्लेषण गरेर हेर्नुपर्ने पनि हुन्छ । राष्ट्र बैंक र नेपाली जनतासँग जुन भारतीय रुपैयाँ छ, त्यसलाई भारतीय सरकारसँग साटेर त्यसबाट पनि कन्फिडेन्स विकास गर्नुपर्ने हुन्छ । मूलतः सरकारी खर्च नै बढाउनुपर्ने हुन्छ ।
बैंकको आगामी योजना के छ ?
सबैभन्दा ठूलो विकास बैंकको नाताले विकास बैंक कसरी चलाउनुपर्छ । विकास बैंक र कमर्सियल बैंकमा के फरक छ । विकास बैंकलाई मूलतः के गरेर जानुपर्छ भनेर हामीले केही नीति बनाएका छौं । हामी त्यो नीतिअनुसार अगाडि बढ्छौं । हामी आफ्नो बजार पहिचान गरेर कहाँ पुगेर, कसलाई सेवा दिने, कस्तो सेवा दिने भन्ने कुरामा लाग्छौं । हामीले ग्राहकहरूलाई नयाँ–नयाँ प्रकारका सेवा र राम्रो निक्षेपमा राम्रो ब्याजदर दिएर स्किमहरू ल्याइरहेका छौं।
प्रतिक्रिया