पूर्व उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १२ करोड रुपैयाँबढी माग दाबी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा.संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, डा.भण्डारीमाथि एमआरआई मेसिन खरिदमा घोटाला गरेको अभियोगमा १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको हो।
सोही प्रकरणमा प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, काठमाडौँका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डिसी, शाखा अधिकृत श्रीराम चौधरी, हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, लुम्बिनी हेल्थकेयर प्रालि र उक्त कम्पनीका अध्यक्ष पोस्ट राज ज्ञवालीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियारको अनुसन्धानले एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको पुष्टि भएको छ। यी सबै व्यक्तिहरूमाथि १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ बिगो दाबी गरिएको छ। मुद्दाको सुनुवाइ विशेष अदालतमा हुने बताइएको छ।
प्रतिक्रिया