बुधबार, ५ कार्तिक २०८२

बुङ्गल हाइड्रोले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

समयपोष्ट २०८२ भदौ १६ गते ६:३५

Advertisement

बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणलाई शेयर उपलब्ध गराउन लागेको हो।

कम्पनीको जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरूलाई र २ लाख ७ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ। साथै, १ लाख ३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख १ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको छ। प्रत्येक कित्ताको अंकित मूल्य १०० रुपैयाँ रहेको छ। लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गतेसम्म बन्द हुनेछ।

Advertisement

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी सिंगल बी’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र डिस्काउण्टेड लगानी फिर्ता अवधि २२.२९ वर्ष रहेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट वा मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री