नागढुङ्गा सुरुङमार्ग: असोजभित्र सञ्चालनको तयारी, आरएफआईडी प्रणालीमार्फत दस्तुर सङ्कलन
नेपालको पहिलो आधुनिक सुरुङमार्ग, नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सडक विभागअन्तर्गत निर्माणाधीन यो आयोजनाको भौतिक प्रगति हाल ९४.५ प्रतिशत पुगेको छ र असोज महिनाभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका लागि यात्रा सहज, सुरक्षित र द्रुत हुने अपेक्षा गरिएको छ। यसले विशेषगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ।
सडक विभागले सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतका लागि सेवा प्रदायक परिचालन गर्न खरिद प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भइसकेको र मन्त्रिपरिषद्बाट खरिद निर्देशिका स्वीकृत भएको विभागले जनाएको छ। हाल नमुना बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा छ भने लागत अनुमान तयारीको काम पनि भइरहेको छ।
सुरुङमार्गको सञ्चालन र मर्मतका लागि चौबिसै घण्टा (२४/७) सेवा प्रदान गर्नुपर्ने हुन्छ। यसमा आपत्कालीन उद्धार, आगलागी नियन्त्रण, पावर सप्लाई, लाइटिङ, भेन्टिलेसन, आन्तरिक सञ्चार, रिमोट मनिटरिङ, दमकल र अन्य उच्च प्रविधियुक्त प्रणालीहरूको नियमित सञ्चालन र मर्मत कार्य समावेश छन्। यी जटिल कार्यहरूका लागि दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरको अनुभव आवश्यक पर्ने भएकाले विशेषज्ञ सेवा प्रदायक छनोट गरिने भएको छ।
जापानी परामर्शदाताले तयार गरेको ‘स्पेशिफिकेशन’ र ‘म्यानुअल’ विभागीय प्रमुखबाट स्वीकृत भइसकेको छ। यो म्यानुअलले सुरुङमार्गको सुरक्षित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्नेछ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साउन २६ गतेको निर्णयअनुसार सुरुङमार्ग उपभोग दस्तुर स्वीकृत भएको छ। यो दस्तुर सङ्कलनबाट सुरुङको मर्मत, सञ्चालन र व्यवस्थापनका लागि दिगो स्रोत व्यवस्थापन गरिने छ।
दस्तुर सङ्कलनका लागि अत्याधुनिक रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआइडी) प्रणाली जडानको कार्य भइरहेको छ। यो प्रणालीमार्फत सवारी साधनको विन्डशिल्डमा टाँसिने बैंक खातासँग जोडिएको आरएफआइडी ट्याग प्रयोग गरी स्वचालित रूपमा टोल भुक्तानी गर्न सकिनेछ। यसले प्रयोगकर्तालाई सहज र समयमै भुक्तानी गर्न सुविधा प्रदान गर्नेछ।
प्रतिक्रिया