नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न
“रिडिफाइनिङ सक्सेस” भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा चारदिने शाखा प्रबन्धक वार्षिक सम्मेलन सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय हासिल गरी तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने, साथै जीवन बीमा व्यवसायका वर्तमान चुनौतीहरूको विश्लेषण गरी आगामी वर्षको लागि स्पष्ट रणनीति तयार गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको थियो।
कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न सम्मेलनको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। सम्मेलनमा देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख, विभागीय प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
उद्घाटन समारोहमा अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले जीवन बीमा व्यवसायमा बढ्दो प्रतिस्पर्धाको अवस्थामा कर्मचारीहरूको दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरू र समग्र कर्मचारीहरूलाई बधाई दिएकी थिइन्। उनले आगामी दिनमा पनि सबैको सामूहिक प्रयासले कम्पनीको उचाइ थप वृद्धि हुने विश्वास व्यक्त गरिन्।
सम्मेलनमा सहभागी कर्मचारीहरूको व्यवसायिक दक्षता अभिवृद्धिका लागि प्रख्यात व्यक्तित्व अनिल केशरी शाहले नेतृत्व विकाससम्बन्धी उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए। त्यस्तै, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिँदै बीमालाई दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गर्ने कार्य बढिरहेकोमा सचेत रहन आग्रह गरे। उनले वित्तीय क्रियाकलापहरूको सूक्ष्म निगरानी र पेशागत मर्यादाले यस्ता गतिविधि रोक्न सकिने बताउँदै राष्ट्रिय हितका लागि यस्ता कार्यविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए।
सम्मेलनमा सांगीतिक प्रस्तुति, टग अफ वार, फुटसल प्रतियोगिताजस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिएको थियो। आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट प्रदर्शन गर्ने शाखा कार्यालयहरू, वार्षिक लक्ष्य पूरा गर्ने शाखाहरू र विभिन्न विधामा उत्कृष्ट ठहरिएका शाखाहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए।
प्रतिक्रिया