सतलजले अरुण तेस्रोको बिजुली उत्तर प्रदेशमा बेच्ने, एसजेभीएन र युपिपिसीएलबिच सम्झौता
भारतीय सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) ले नेपालको संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बिक्रीका लागि उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (युपिपिसीएल) सँग विद्युत खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर गरेको छ।
भारतीय सञ्चार माध्यम ‘द प्रिन्ट’ का अनुसार, एसजेभीएनले हिमाचल प्रदेशमा अवस्थित आफ्ना अन्य परियोजनाहरू– २१० मेगावाटको लुहरी चरण–१ र ३८२ मेगावाटको सुन्नी बाँध जलविद्युत परियोजनाबाट पनि बिजुली आपूर्तिका लागि युपिपिसीएलसँग सम्झौता गरेको छ। यी परियोजनाहरूले राष्ट्रिय ग्रिडमा ५९२ मेगावाट हरित ऊर्जा थप्नेछन् र वार्षिक २१४० मिलियन युनिट बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, अरुण तेस्रो जलविद्युत परियोजनाले सन् २०२८ सम्ममा सञ्चालनमा आएर ९०० मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्नेछ। यो परियोजनाले भारतको बढ्दो ऊर्जा माग पूरा गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
यसका अतिरिक्त, एसजेभीएनले ३८२ मेगावाटको सुन्नी बाँध जलविद्युत परियोजनाबाट बिजुली आपूर्तिका लागि नयाँ दिल्ली नगर परिषद्सँग पनि पिपिएमा हस्ताक्षर गरेको छ। लुहरी चरण–१ र सुन्नी बाँध परियोजनाहरू पनि डिसेम्बर २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया