शनिबार, १४ असार २०८२

महाकाली सन्धि ठीक थियो, अब पञ्चेश्वर परियोजना कार्यान्वयन गर्छौँ : प्रधानमन्त्री ओली

समयपोष्ट २०८२ असार १४ गते १६:०८

Advertisement

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले साधारण शक्ति नभएर विश्व कम्युनिस्ट आन्दोलनमा असाधारण प्रभाव राख्ने पार्टी भएको बताएका छन्। उनले एमालेलाई ‘झुसे बारुलो’सँग तुलना गर्न नमिल्ने भन्दै पार्टीको विचार, उद्देश्य र प्रतिबद्धताको दमले यसलाई विशिष्ट बनाएको स्पष्ट पारे।

मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, “चिल ठूलो सिकारी चरा हो, तर सानो चिबेले लखेटेर हैरान बनाउँछ। आकार मात्रै ठूलो भएर हुँदैन। विचारको दम, उद्देश्यको सहीपना, प्रतिबद्धता र सही नेतृत्वले शक्ति निर्धारण गर्छ। नेकपा एमालेमा यी सबै गुण छन्।”

प्रधानमन्त्री ओलीले भारतसँग भएको महाकाली सन्धि सही भएको बताउँदै यसको बहानामा एमालेमाथि प्रहार र पार्टी फुटाउने प्रयास भएको स्मरण गरे। उनले भने, “महाकाली सन्धि ठीक थियो, तर त्यसबेला देश र नदी बेचेको भ्रम फैलाएर पार्टी फुटाइयो। तैपनि, एमाले सधैं मजबुत भएर फर्किएको छ।” उनले सन्धि कार्यान्वयनका लागि पञ्चेश्वर परियोजना अघि बढाउने, बिजुलीको पैसा लिने र चाँदनी दोधारामा १० क्युबिक पानी लिने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “यसअघि पनि कुरा गरेको थिएँ, अब फेरि कुरा गर्छौँ।”

ओलीले नेकपा एमाले राष्ट्रको सार्वभौमसत्ता, सम्प्रभुता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानमा कुनै सम्झौता नगर्ने बताए। उनले बहुदलीय जनवादले यस्ता विषयलाई कदापि स्वीकार नगर्ने उल्लेख गरे। “हामीलाई धुलो बनाउँछु भन्नेहरूले आफ्नै दाँत भाँच्छन्। नेकपा एमाले साधारण फलामको टुक्रा होइन, यो विचार र सङ्गठनको अटल शक्ति हो,” उनले भने।

Advertisement

ओलीले विगतमा एमालेमाथि भएका आक्रमण र फुटका प्रयासहरूको बाबजुद पार्टी थप सशक्त बनेको दाबी गरे। “दिउँसै टर्च बालेर खोज्दा नभेटिने गरी धुलो बनाउँछु भन्नेहरू असफल भए। एमाले अटल छ, अझ बलियो बनेर फर्किएको छ,” उनले जोड दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री