काँग्रेस–एमाले मिलाउने स्वार्थ समूहले बजेटमा चलखेल गर्यो : उपमहासचिव पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बिचौलियाहरूको स्वार्थमा नीति ल्याएको आरोप लगाएका छन्।
पार्टी सम्बद्ध नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै पुनले स्पन्ज आइरन र तार जाली उद्योगका लागि आर्थिक चलखेलको आधारमा कर नीति बनाइएको बताए।
सत्तानिकट स्वार्थ समूहको फाइदाका लागि ल्याइएको नीतिले अर्बौं लगानी गरेका अन्य व्यवसायीको व्यवसाय संकटमा पर्ने र हजारौंको रोजगारी गुम्ने अवस्था आएको उनको भनाइ थियो। ‘स्पन्ज आइरनमा लगाइँदै आएको करलाई १ प्रतिशतमा झारिएको छ, जबकि अर्को थरिलाई ५ प्रतिशत कर लगाइएको छ। यस्तो नीतिले उद्योग सञ्चालन हुन सक्दैन र रोजगारी पनि खोसिन्छ,’ पुनले भने। उनले कानुन निर्माण, बजेट तर्जुमा र ठेक्कापट्टामा बिचौलियाकरण भएको भन्दै यस्तो अवस्थाले राष्ट्रिय पुँजी निर्माण हुन नसक्ने बताए।
‘बिचौलियाको स्वार्थमा राज्यका निकायले कानून बनाउँदा समाजवादको आधार बन्दैन,’ पुनले भने, ‘राष्ट्रिय पुँजी निर्माण र प्रतिस्पर्धी वातावरण बनाएर मात्र समाजवादको जग बसाल्न सकिन्छ।’ यसका लागि सरकार र दलहरू ‘नियमानुसार चल्ने’ सिद्धान्तमा रहनुपर्ने उनको जोड थियो।
पुनले दलाल पुँजीपतिको प्रभावबाट राज्यलाई मुक्त गर्ने प्रयास गर्दा आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालिएको दोहोर्याए। ‘दलाल पुँजीपतिको घेराबाट राज्यलाई बाहिर निकाल्न खोज्दा स्वार्थ समूहले काँग्रेस र एमालेलाई मिलाइदियो,’ उनले भने।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले कृषि, जलविद्युत, सूचना प्रविधि र उत्पादनमूलक उद्योगमा लगानी प्रवर्द्धन गरेर राष्ट्रिय पुँजी निर्माण गर्न सकिने बताए।
फरक प्रसंगमा, उनले नेपालका छिमेकी चीन र भारत क्रमशः विश्वको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र बन्दै गएकाले नेपालले त्यसको लाभ लिनुपर्नेमा जोड दिए। त्यसका लागि परम्परागत एकतर्फी नीतिबाट माथि उठेर उत्तर–दक्षिण समदूरीको सम्बन्ध विकास गर्नुपर्ने उनले बताए। ‘नेपालले उत्तर र दक्षिणको विकासबाट फाइदा लिनुपर्छ। त्यसैले हाम्रो सरकार हुँदा उत्तर–दक्षिण करिडोरको अवधारणा ल्याएर कार्यान्वयन गरेका थियौं,’ उनले भने।
प्रतिक्रिया