शुक्रबार, १३ असार २०८२

पिपुल्स पावर र बरुण हाइड्रोपावरले गरे हकप्रद शेयर निष्काशनको मिति तय

समयपोष्ट २०८२ असार १३ गते १०:०४

Advertisement

पिपुल्स पावर लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने मिति तय गरेका छन्। दुवै कम्पनीले आफ्नो चुक्ता पूँजी वृद्धि गर्न र विभिन्न आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेका हुन्।

बरुण हाइड्रोपावरको हकप्रद शेयर

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१, २०८२ देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। यसअनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले जेठ २२, २०८२ मा बुकक्लोज गरेको थियो। तसर्थ, जेठ २१, २०८२ सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले साउन १९, २०८२ सम्म हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

Advertisement

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका विराटनगर, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी-आस्बा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ। हकप्रद निष्काशन र बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ। संकलित रकममध्ये १ करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत आयोजनाको पुनर्निर्माण र अन्य खर्चमा प्रयोग हुनेछ भने बाँकी ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनी प्रालिमा लगानी र अधिग्रहणका लागि खर्च गरिनेछ।

पिपुल्स पावरको हकप्रद शेयर

पिपुल्स पावर लिमिटेडले असार २२, २०८२ देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १०:५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। यसअनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार २, २०८२ मा बुकक्लोज गरेको थियो। तसर्थ, असार १, २०८२ सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले साउन ११, २०८२ सम्म हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी-आस्बा प्रणालीमार्फत र ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ छ। हकप्रद निष्काशन र बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम पुवा २ जलविद्युत आयोजना निर्माणका लागि विभिन्न बैंकहरूबाट लिएको ऋणको केही रकम भुक्तानी गर्न, आयोजना निर्माणको बाँकी खर्च व्यवस्थापन गर्न र कम्पनीद्वारा प्रवर्द्धित अन्य आयोजनाको विकासमा लगानी गर्न प्रयोग गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री