आइतबार, ११ जेठ २०८२

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो

समयपोष्ट २०८२ जेठ ११ गते ६:४५

Advertisement

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री यहाँ पुगेको छ ।

प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी घर (टेन्ट), म्याट्रेस सेटलगायत राहत सामग्री यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । प्रदेश सरकारले पठाएको राहत सामग्री प्रजिअ पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेललगायतले खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडामा पुगेर लिनुभएको हो ।

बोक्चेगौडा सडक निर्माण भइरहेका कारण सिधै सदरमुकाम सिमकोटमा पुग्न नसकेपछि उहाँको टोली शनिबार त्यहाँ पुगेर राहत सामान बुझी ल्याएको हो । उक्त सामान बोक्चेगौडा भिरमा बोकेर ओसारिएको थियो । यस्तै अन्य सुरक्षाकर्मीले भारी बोकेर भिर पार गरी सामग्री ओसारेका थिए । कर्णाली प्रदेश सरकारले पठाएको उक्त राहत सामग्री नाम्खा गाउँपालिका उपाध्यक्ष लामाको जिम्मा लगाइएको छ ।

यही जेठ १ गते राति गाउँभन्दा माथिदेखि बाढीपहिरो आउँदा तिल गाउँका १९ परिवारका ३३ जना अहिले त्रिपालमुनि बस्दै आएका छन् । तिलगाउँमा आएको बाढीपहिरोबारे अनुसन्धान, अवलोकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली अहिले उक्त स्थानमा रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री