फेरि बढ्दै कोभिड–१९ को सङ्क्रमण
एसियाली मुलुकहरूमा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुनः फैलिन थालेको छ। हङकङ, चीन, थाइल्याण्ड र सिंगापुरलगायतका देशमा सङ्क्रमणको दर तीव्र रूपमा बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
हङकङमा पछिल्लो एक सातामा सङ्क्रमण ३० प्रतिशतले बढेको छ। १० मई २०२५ भन्दा एक साता अघि १,०४२ जनामा सङ्क्रमण पुष्टि भएको थियो, जुन अघिल्लो साताको ९७२ को तुलनामा बढी हो। मार्चको पहिलो सातामा यो सङ्ख्या केवल ३३ थियो। त्यसयता सङ्क्रमण निरन्तर बढिरहेको छ। पोजेटिभिटी दर पनि मार्चको पहिलो साताको ०.३१ प्रतिशतबाट बढेर ५ अप्रिलमा ५.०९ प्रतिशत र १० मईको अघिल्लो सातामा १३.६६ प्रतिशत पुगेको छ।
सिंगापुरमा पनि सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। २७ अप्रिलको अघिल्लो सातामा ११,१०० सङ्क्रमित फेला परेका थिए भने ३ मईको अघिल्लो सातासम्म यो सङ्ख्या १४,२०० पुग्यो, जुन एक सातामै ३० प्रतिशतको वृद्धि हो।
अस्ट्रेलियामा पनि कोभिड–१९ को सङ्क्रमण देखिएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएपछि अस्ट्रेलिया पुगेका क्रिकेटर ट्राभिस हेड सङ्क्रमित भएका छन्। सनराइजर्स हैदरावादका प्रशिक्षक डानियल भिटोरीका अनुसार सङ्क्रमणका कारण हेडको भारत फर्कने समय ढिला हुने भएको छ।
प्रतिक्रिया