सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १३औँ वार्षिकोत्सव : जग्गा अभावले विस्तार योजना प्रभावित
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफ्नो १३औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जग्गा अभावका कारण केन्द्रको विस्तार योजना रोकिएको बताए। उनले भक्तपुरमा जग्गा उपलब्ध नभए दूधपाटीमा सञ्चालित यो केन्द्र अन्य जिल्लामा स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे।
मन्त्री पौडेलले केन्द्रले भवन निर्माणका लागि रकम व्यवस्था गरिसकेको भए पनि जग्गा अभावले निर्माण कार्य अघि बढ्न नसकेको बताए। उनले भने, “भक्तपुरमै केन्द्र राख्ने हो भने अब ढिला नगरी जग्गा उपलब्ध गराउनुपर्छ। जग्गा नहुँदा केन्द्रले आफ्नो भवन बनाउन सकेको छैन।”
देशभर प्रत्यारोपण सेवाको नेतृत्व गर्ने लक्ष्य
मन्त्री पौडेलले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई देशभरको अङ्ग प्रत्यारोपण सेवाको नेतृत्वकर्ता अस्पतालको रूपमा विकास गरिने बताए। हाल गण्डकी (पोखरा), कर्णाली (सुर्खेत) र लुम्बिनी प्रदेशमा प्रत्यारोपण सेवा सुरु भइसकेको छ भने बागमती प्रदेशको भरतपुर अस्पतालमा आगामी एक महिनाभित्र सेवा सञ्चालन हुने उनले जानकारी दिए।
यस्तै, सुदूरपश्चिमको गेटा अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश प्रदेशको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सेवा विस्तारको तयारी भइरहेको छ। मन्त्री पौडेलले अङ्ग प्रत्यारोपणको माग बढ्दै गए पनि ‘ब्रेन डेथ’ पश्चात् अङ्गदानको चेतना अभावले अङ्गको आपूर्तिमा समस्या भएको बताए। उनले भने, “मैले आफ्नो अङ्ग दान गरिसकेको छु। ‘ब्रेन डेथ’ पश्चात् अङ्गदान गर्ने परिवारलाई केन्द्रबाट रु. १ लाख र मन्त्रालयबाट थप रु. १ लाख सहयोग प्रदान गरिन्छ। एक जनाको अङ्गले ६ जनाको ज्यान बचाउन सकिन्छ, अङ्गदान पूण्य कार्य हो।”
मुटु प्रत्यारोपण सेवा र श्रमिकका लागि विशेष व्यवस्था
मन्त्री पौडेलले भक्तपुर केन्द्रमा मुटु प्रत्यारोपण सेवा सञ्चालनको तयारी भइरहेको र देशभर सेवालाई विस्तार गरिने बताए। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्वास्थ्य तालिम अनिवार्य गरिएको र विदेशबाट फर्किएका श्रमिकको मिर्गौला लगायत अङ्गको निःशुल्क परीक्षण केन्द्रमा गरिने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
जग्गा उपलब्धताको प्रतिबद्धता
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिकाले केन्द्रका लागि झौखेलमा ३० रोपनी जग्गा उपलब्ध गराइसकेको बताए। उनले भने, “यो जग्गामा डायलासिस सेवा तत्काल सुरु गर्न सकिन्छ। साथै, सुडालको मिश्रिकोटारमा थप ३५ रोपनी १२ आना सार्वजनिक जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइसकिएको छ।”
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले झौखेलको जग्गामा भवन निर्माण गरी सेवा सुरु गर्न केन्द्रलाई आग्रह गरे। उनले कुनै विवाद आए समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।
केन्द्रको प्रगति र सम्मान
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले विगत १३ वर्षको प्रगति र सेवा विस्तारका चुनौतीबारे जानकारी गराए।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अङ्ग प्रत्यारोपण सेवालाई थप प्रभावकारी बनाउन र देशभर विस्तार गर्न सरकार, स्थानीय तह र समुदायको सहयोग अपरिहार्य रहेको जनाएको छ।
प्रतिक्रिया