सवारी चलाउन अब १८ वर्ष उमेर पुग्नुपर्ने

सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हदमा परिवर्तन ल्याउने गृहकार्य सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ को मस्यौदा तयार गर्दै नयाँ उमेर सीमा प्रस्ताव गरेको हो। यो कदमले सडक सुरक्षालाई थप मजबुत बनाउने र युवाहरूमा जिम्मेवारीको भावना बढाउने अपेक्षा गरिएको छ।
हालको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार मोटरसाइकलजस्ता दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्रका लागि १६ वर्ष उमेर पुगेको हुनुपर्छ। तर, नयाँ मस्यौदामा यो सीमा बढाएर १८ वर्ष बनाउने प्रस्ताव गरिएको छ। मन्त्रालयका अनुसार यो परिवर्तनले किशोरावस्थामा सवारी चलाउँदा हुने जोखिम कम गर्न सहयोग पुग्नेछ।
यसैगरी, ठूला सवारी साधनको चालक अनुमति पत्रका लागि हाल २१ वर्ष उमेर तोकिएकोमा अब २३ वर्ष पुर्याउने योजना छ। मझौला र साना सवारीका लागि भने १८ वर्षबाट बढाएर २१ वर्ष उमेर सीमा प्रस्ताव गरिएको छ। यी परिवर्तनले चालकहरूमा परिपक्वता र अनुभव बढ्ने विश्वास मन्त्रालयको छ।
यो प्रस्तावित ऐनले सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनमा सुधार ल्याउने लक्ष्य राखेको छ। नयाँ नियम लागू भएमा युवाहरूले सवारी चलाउन थप समय कुर्नुपर्ने भए पनि सुरक्षित र जिम्मेवार चालक उत्पादनमा जोड दिइने मन्त्रालयको दाबी छ।




























प्रतिक्रिया