काठमाडौँका ३६ ठाउँमा यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने प्रविधि जडान
बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा अब पैदल यात्रुले आफैँ बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने भएका छन्।
काठमाडौं महानगरपालिकाले बुधबारदेखि यहाँ पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो।
काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठका अनुसार पैदल यात्रुको सुरक्षाका लागि महानगरले हालसम्म ३६ स्थानमा पेलिकन क्रसिङ जडान गरेको छ।
“सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षा हाम्रो मुख्य उद्देश्य हो,” उनले भने। पेलिकन क्रसिङ प्रयोग गर्न यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले सुरक्षित रूपमा बाटो काट्न सक्नेछन्।
पद्मकन्या क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले यो नयाँ प्रविधिले सडक दुर्घटना कम गर्ने विश्वास व्यक्त गरिन्। “महिनैपिच्छे दुर्घटना हुने यस क्षेत्रमा यो प्रविधि निकै प्रभावकारी हुनेछ,” उनले भनिन्। पद्मकन्या क्याम्पसकै जनसंख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले पनि यो प्रविधिले कसैको ज्यान नजाओस् भन्ने उद्देश्य रहेको बताइन्। “सडक सुरक्षाको मापदण्डमा काठमाडौं महानगरले अवलम्बन गरेको यो उपाय निकै राम्रो हो,” उनले थपिन्।
प्रतिक्रिया