नेपाल-भारत संयुक्त परियोजना अनुगमन समितिको पाँचौं बैठक सम्पन्न
नेपाल र भारतबीचको संयुक्त परियोजना अनुगमन समिति (JPMC) को पाँचौं बैठक आज काठमाडौंमा सम्पन्न भएको छ।
बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकारको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाल सरकारको सहरी विकास मन्त्रालयका सहसचिव पद्म कुमार मैनालीले गरेका थिए। बैठकमा दुवै देशका सरकारी प्रतिनिधि, परामर्शदाता तथा परियोजना कार्यान्वयनमा संलग्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
२०७२ सालको विनाशकारी भूकम्पपछि नेपालमा पुनर्निर्माणका लागि भारत सरकारले २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) अनुदान सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो। यो सहयोग आवास, शिक्षा, स्वास्थ्य, र सांस्कृतिक सम्पदा गरी चार मुख्य क्षेत्रहरूमा विभाजन गरिएको छ। २०१७ अगस्टमा, यी परियोजनाहरूको प्रगतिलाई अनुगमन गर्न JPMC स्थापना गरिएको थियो।
बैठकमा यी क्षेत्रका पुनर्निर्माण परियोजनाहरूको प्रगतिबारे विस्तृत समीक्षा गरियो। बैठकले २०२१ मा आवास क्षेत्रका परियोजनाहरू र २०२४ मा शिक्षा क्षेत्रका परियोजनाहरूको सफल सम्पन्नताप्रति प्रशंसा व्यक्त गर्यो।
स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरूमा सन्तोषजनक प्रगति भएको बताउँदै, दुवै पक्षले बाँकी परियोजनाहरूलाई चाँडै सम्पन्न गर्न सहमति जनाए।
अक्टोबर २०२३ मा सम्पन्न चौथो JPMC बैठकपछि, भारत सरकारले शिक्षा क्षेत्रका २६ परियोजनाहरू (जसमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय पनि समावेश छ), स्वास्थ्य क्षेत्रका ३२ परियोजनाहरू, र सांस्कृतिक सम्पदा क्षेत्रका ३ परियोजनाहरू नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। त्यसैगरी, स्वास्थ्य क्षेत्रका थप ४३ परियोजनाहरू र सांस्कृतिक सम्पदा क्षेत्रका ९ परियोजनाहरू समेत पूरा भएका छन्। यी परियोजनाहरूको कुल लागत ५०८.५७ करोड नेपाली रुपैयाँ रहेको छ।
बैठकले यी पुनर्निर्माण परियोजनाहरूले रोजगारी सिर्जना, दुर्गम क्षेत्रमा स्वास्थ्य तथा शिक्षा सुविधा विस्तार, र सामाजिक–आर्थिक विकासमा पु¥याएको सकारात्मक प्रभावप्रति उच्च प्रशंसा व्यक्त गर्यो।
बैठकपछि, अतिरिक्त सचिव मुनु महावरले ललितपुर महानगरपालिका–८ स्थित गुठास्थल महाविहार पुनर्निर्माण परियोजनाको अवलोकन गरे। उनले परियोजनाको प्रगतिबारे जानकारी लिँदै स्थानीय समुदायका सदस्यहरूसँग छलफल गरे।
दुवै पक्षले आगामी JPMC बैठक उपयुक्त समयमा आयोजना गर्ने सहमति गरेका छन्।
प्रतिक्रिया