मंगलबार, २४ असार २०८२

बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु

समयपोष्ट २०८१ भदौ २३ गते ११:५७

Advertisement

नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ ।

गत बिहीबारदेखि बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

भारतको नेशनल लोड डिस्प्याच सेन्टर (एनएलडिसी) ले ‘नो अब्जेक्सन लेटर’ दिएपछि पहिलो चरणमा तीन परियोजनाको ४० मेगावाट विद्युत् निर्यात शुरु गरेको निर्देशक घिसिङले बताए ।

प्राधिकरणका अनुसार अहिले १४.४५३ मेवाको माया खोला, १४.४ मेवाको मोदी र ११.६४ मेवाको दूधकुण्ड जलविद्युत् परियोजनाको विद्युत् बिहारमा निर्यात गरिएको छ ।

Advertisement

१३२ केभीको कुशाहा–कटैया अन्तरदेशीय प्रसारणलाइनबाट उक्त विद्युत् बिहारमा निर्यात गरिएको हो । सम्झौताअनुसार प्रतियुनिट ८.७२ रुपैयाँ (५.४५ भारु) मा उक्त विद्युत् निर्यात भइरहेको प्राधिकरणले बताएको छ । त्यस्तै ११.६४ मेवाको दोर्दी–१, ९.९९ मेवाको डाउन पिलुवा, १०.६७ मेवाको तल्लो खारे, ११.६४ मेवाको माथिल्लो खिम्ती, ६.८ मेवाको माथिल्लो खिम्ती–२, १४.६ मेवाको गण्डक र १९.२१ मेवाको माथिल्लो सोलु जलविद्युत् परियोजनाले भने हालसम्म पनि ‘नो अब्जेक्सन लेटर’ पाइसकेका छैनन् । उक्त लेटर पाएको खण्डमा ती कम्पनीको विद्युत् बिक्री निर्यात गर्न पनि बाटो खुल्ने छ ।

प्राधिकरणले गत साताबाटै भारतको हरियाणा राज्यमा थप १२५.८९ मेवा विद्युत् बिक्री गर्न शुरुगरेको थियो । जसअनुसार त्यहाँ ७५ मेवा क्षमताको लिखु–१ र ५०.८९ मेवा क्षमताको लिखु–२ को १२५.८९ मेगावाट विद्युत् बिक्री गर्न शुरु भएको थियो । प्राधिकरणले प्रतियुनिट ८.७२ रुपैयाँ (५.४५ भारु) मा त्यहाँ विद्युत् बिक्री गरेको हो ।

हाल त्यहाँ मध्यकालीन सम्झौताअन्तर्गत २३५ मेगावाट विद्युत् निर्यात भइरहेको छ । प्राधिकरणले यसअघि पनि हरियाणा राज्यमा १०९ मेगावाट विद्युत् मध्यकालीन सम्झौताअन्तर्गत नै बिक्री गरिरहेको थियो ।

त्यसको दर भने प्रतियुनिट ८.४० रुपैयाँ (५.२५ भारु) छ । बिहारसहित भारतमा मध्यकालीन सम्झौताअन्तर्गत कुल २७५ मेगावाट विद्युत् निर्यात हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री