‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका’ संशोधन, अब नेपालमा बनेका सवारी दर्ता गर्न सहज
यातायात व्यवस्था विभागले ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका’ संशोधन गरेको छ ।
विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो ।
निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।’
यससंगै अब नेपालमा बनेका सवारीले दर्ताका लागि प्रज्ञापनपत्र (एलसी) खोलेको प्रमाण बुझाउनुनपर्ने भएको छ ।
नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नु पर्ने व्यवस्था गरिएको छ । सरकारले भ्याट बिल, अन्तःशुल्क निकासी फारमका आधारमा यस्ता सवारीको दर्ता गरेर नम्बर प्लेट लिन सकिने छ ।
योसँगै यात्री लगायत नेपालमै सवारी उत्पादन तथा एसेम्बल गरिरहेका र गर्ने तयारी गरेका कम्पनीहरुलाई सवारी दर्ता गर्न सहज हुने भएको छ।
नेपालमै डिजाइन भएको र आयातित सामान प्रयोग गरेर बनाइएको यात्रीका विद्युतीय मोटरसाइकल दर्ता हुन सकेका थिएनन्। बागमती प्रदेश सरकारले कानूनी अड्चन भएको भन्दै आफ्नो मातहतको यातायात कार्यालयलाई सवारी दर्ता गर्न दिएको थिएन।
प्रतिक्रिया