मलमासमा के गर्नहुन्छ, के हुँदैन ?
यो बर्ष असोज महिनाभर नै मलमास परेको छ ।
असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
मलमास अथवा अधिकमासमा विभिन्न कार्यहरु वर्जित गरिएको छ । मलमासको समयमा महादान, माङ्गलिक कार्यअर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।
तर नित्य कर्म पूजा, पाठ, जप,नित्य बसिरहेको व्रत, ध्यान गर्नुहुन्छ । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम छ ।
– यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।
– मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न हुँदैन ।
–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ ।
–गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ ।
नव दम्पतीले के गर्नु हुँदैन ?
–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ ।
–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ ।
–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।
प्रतिक्रिया