जहाजको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे अफगानि बालक
एक १३ वर्षीय बालकले काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ को ल्यान्डिङ गियरमा लुकेर अफगानिस्तानको काबुलबाट भारतको दिल्लीसम्मको जोखिमपूर्ण यात्रा गरेका छन्। यो घटना आइतबार भएको हो, जसले विमानस्थलका सुरक्षा एजेन्सीहरूलाई चकित बनाएको छ।
काम एयरलाइन्सको उक्त फ्लाइट काबुलको हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थल बिहान ८:४६ मा उडेको थियो। भारतीय समयअनुसार बिहान १०:२० मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण भएको थियो। अवतरणपछि एयरलाइन्सका कर्मचारीले विमाननजिक एक बालक घुमिरहेको देखे। तत्काल सुरक्षा अधिकारीलाई खबर गरिएपछि उनलाई हिरासतमा लिइयो र प्रहरीको जिम्मा लगाइयो।
प्रारम्भिक सोधपुछमा ती बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाले ल्यान्डिङ गियरमा लुकेको बताए। अफगानिस्तानको कुन्दुज शहरका ती बालकको नाम र अन्य विवरण गोप्य राखिएको छ।
विमानको विस्तृत जाँचका क्रममा ल्यान्डिङ गियर कम्पार्टमेन्टमा एउटा सानो रातो स्पिकर फेला पर्यो, जुन ती बालकले आफूसँग ल्याएको बताइएको छ। काबुल विमानस्थलको सुरक्षा प्रणालीलाई छल्दै उनले विमानको पछिल्लो ल्यान्डिङ गियरमा लुकेर यात्रा गरेको दिल्लीका विमानस्थल अधिकारीले पुष्टि गरेका छन्। जाँचपछि विमानलाई सुरक्षित घोषणा गरियो र ती बालकलाई सोही दिन सोही फ्लाइटमार्फत अफगानिस्तान फिर्ता पठाइयो।
सुरक्षा विशेषज्ञहरूका अनुसार ल्यान्डिङ गियरमा लुकेर यात्रा गर्नु अत्यन्तै जोखिमपूर्ण हुन्छ। ३०,००० फिटको उचाइमा तापक्रम माइनस ४० देखि ६० डिग्री सेल्सियससम्म पुग्छ र अक्सिजनको मात्रा अत्यन्तै कम हुन्छ। यस्तो अवस्थामा केही मिनेटमै बेहोस हुने वा मृत्यु हुने सम्भावना रहन्छ। ल्यान्डिङ गियर कम्पार्टमेन्टमा सुरक्षा उपकरण, ब्रेक सिस्टम र हाइड्रोलिक पाइपहरू हुन्छन्, जसले मानव शरीरलाई थप खतरा निम्त्याउँछ।
विश्वभर यस्तो तरिकाले लुकेर यात्रा गर्नेहरूको जीवित रहने सम्भावना केवल २० प्रतिशत रहेको एक अध्ययनले देखाएको छ। तथापि, यो बालक कसरी जिउँदै दिल्लीसम्म पुग्यो भन्ने कुराले सुरक्षा एजेन्सीहरूलाई अचम्ममा पारेको छ।
सन् २०२१ अगस्ट १५ मा तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि धेरै नागरिक देश छोड्ने प्रयासमा छन्। त्यसबेला काबुल विमानस्थलमा हजारौं मानिसले घुसपैठ गरी विदेश जाने प्रयास गरेका थिए। अमेरिकाले आफ्ना नागरिक र सेनालाई फिर्ता लैजान सैनिक विमान पठाएको थियो। सो क्रममा केही अफगानी नागरिक अमेरिकी विमानमा झुन्डिएर यात्रा गर्ने प्रयासमा थिए, जसका कारण कतिपयले आकाशबाट खसेर ज्यान गुमाएका थिए।
प्रतिक्रिया