शनिबार, २२ वैशाख २०८१

चेतनामा आधारित वैदिक शिक्षा प्रवद्र्धन गरिँदै, ९० जनालाई १६ दिने आधारभूत तालिम

समयपोष्ट २०७७ असार ५ गते १३:१३

Advertisement

पूर्णप्रसाद मिश्र

गुरुकुल, सामुदायिक एवं संस्थागत विद्यालयलाई चेतनामा आधारित वैदिक शिक्षाको केन्द्रका रुपमा स्थापित गर्ने अभियान शुरुआत भएको छ । यसका लागि नेपाल महर्षि वैदिक फाउन्डेशनको आयोजनामा देशका मुख्य गुरुकुल एवं आधा दर्जन विद्यालयमा कार्यरत भावातीत ध्यान शिक्षक, गुरुकुल एवं विद्यालयमा स्थायी रुपमा कार्यरत शिक्षक गरी ९० जनालाई चेतनामा आधारित वैदिक शिक्षाको १६ दिने आधारभूत तालीम दिइएको छ ।

सूचना प्रविधि जुमबाट दिइएको तालीमको समापन गर्दै फाउन्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले चेतनामा आधारित शिक्षा विश्वव्यापी रुपमा वैदिक जागरण फैलाउनुभएका सन्त महर्षि महेश योगीको पूर्वीय दर्शनका १२ क्षेत्रका कार्यक्रममध्ये एक रहेको बताउनुभयो । “अन्य देशमा चेतनामा आधारित शिक्षा कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दो छ, नेपालमा पनि विसं २०७० देखि गुरुकुल र विद्यालयमा यो कार्यक्रम शुरु भएको हो, अब यसलाई देशभर विस्तार गर्नेछौँ, यो कार्यक्रमले देशमा हत्या–हिंसा अन्त्य गरी शान्ति र समृद्धितिर लैजान सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

विश्वव्यापी वैदिक अभियानका प्रणेता महर्षि महेश योगीको प्रेरणामा ‘विश्व शान्ति राष्ट्रम्’ स्थापना भएको छ । यसले विश्व शान्ति स्थापनाको सङ्कल्पले नेपाल, भारत, अमेरिका, स्विट्जरल्यान्डलगायत देशमा वैदिक रुद्राभिषेक महायज्ञ पनि सञ्चालन गरिरहेको छ ।

Advertisement

महेश योगीले दिएको मार्गनिर्देशानुसार विश्व शान्ति राष्ट्रम्ले कानून, शिक्षा, स्वास्थ्य, कृषि, अर्थशास्त्र, प्रशासन, वास्तु, रक्षा, सञ्चार, सङ्गीत तथा कला, धर्म तथा संस्कृति र सर्वोत्कृष्ट नीतिका रुपमा राजनीतिशास्त्रमा काम गर्ने फाउन्डेशनले जनाएको छ ।

समापन कार्यक्रममा विश्व शान्ति राष्ट्रम्को यज्ञ हेर्ने राजा लुइसले महर्षि योगीले ‘विश्वमा वैदिक ज्ञानको नेतृत्व नेपालले गर्न सक्छ’ भन्ने भनाइका आधारमा नेपालमा चेतनामा आधारित वैदिक शिक्षालाई विस्तार गर्न लागिएको बताउनुभयो । नेपालमा गुरुकुलका माध्यमबाट यसको अध्ययन अनुसन्धान गर्न लागिएको हो ।

फाउन्डेशनका गुरुकुल निरीक्षक अभिमन्यु नेपालका अनुसार हाल देशभरका ८८ गुरुकुलमा चेतनामा आधारित वैदिक शिक्षासहित भावातीत ध्यान र ध्यान सिद्धि कार्यक्रम लागु भएको छ । यी गुरुकुलमा विश्व शान्तिको सङ्कल्पले वैदिक रुद्राभिषेकसमेत भइरहेको छ जसबाट विश्व शान्ति स्थापनामा सहयोग गर्ने आशा गरिएको छ ।

विश्वव्यापी वैदिक अभियानको प्रशान्त तथा दक्षिण एसिया क्षेत्र हेर्नुहुने निर्देशक किङ्स्ली ब्रुक्सले नेपालमा कम्तीमा ४०० गुरुकुलमा १० हजार वैदिक पण्डितले विश्व शान्तिको सङ्कल्पले वैदिक यज्ञसहित चेतनामा आधारित शिक्षा लागू गर्न लागिएको बताउनुभयो । दक्षिणकाली नगरपालिका–१ चम्पादेवीमा गुरुकुलसहितको महाविद्यालय सञ्चालनका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको उहाँले सुनाउनुभयो ।

चम्पादेवीमा २७ रोपनी क्षेत्रफलमा हवन कुण्ड, वैदिक पण्डितलाई आवासीय रुपमा राख्ने व्यवस्थासहित पाँचवटा भवन तयार भएको छ । यहाँ प्रशासनिक भवनसहित तालीम केन्द्रसमेत रहने जनाइएको छ ।

सो शिक्षा लागू भएका गुरुकुल एवं विद्यालयमा प्रमाणित ध्यान शिक्षकले दैनिक बिहान र बेलुका दुईपटक भावातीत ध्यानसहित ध्यान सिद्धि कार्यक्रम सञ्चालन गर्छन् । दिनमा दुईपटक २० मिनेट भावातीत ध्यान र २० मिनेट सिद्धि सूत्रको अभ्यास गर्दा विद्यार्थीमा नकारात्मक सोच हट्दै गएको, स्मरण शक्ति वृद्धि भएको, स्वास्थ्य राम्रो भई वार्षिक परीक्षामा पनि राम्रो परिणाम प्राप्त हुन थालेको भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा कार्यरत ध्यान शिक्षिका पप्पीदेवी रेग्मीले बताउनुभयो ।

सैनिक विद्यालयमा विसं २०७० देखि भावातीत ध्यानसहित चेतनामा आधारित वैदिक शिक्षाको कार्यक्रम शुरु भएको थियो । यसैगरी वसुन्धराको तिलिङ्गाटार माध्यमिक विद्यालय, भक्तपुरकै माउण्ट एभरेष्ट मावि, पोखराको सैनिक महाविद्यालय र दाङको ज्योतिष्मति विद्यापीठमा पनि सो शिक्षा लागू भएको छ । चालू शैक्षिक सत्रदेखि कागेश्वरी मनोहरा नगरपालिका–४ मा रहेको हिन्दू विद्यापीठ नेपालमा पनि सो कार्यक्रम लागू हुने कार्यक्रम नेपालका निर्देशक मीनराज अधिकारीले जानकारी दिनुभयो ।

हाल विश्वमा ६५ देशका ८०० विद्यालयका करीब पाँच लाख विद्यार्थीमा सो शिक्षा लागू भएको उहाँले सुनाउनुभयो । नेपालमा सो शिक्षा लागू गर्न चाहने अन्य विद्यालयका शिक्षकलाई पनि तालीम दिइने तयारी भएको छ । १६ दिने आधारभूत तालीम दिएपछि अन्य तालीम पनि दिइने उहाँले बताउनुभयो ।

सो शिक्षाको मुख्य आधार भावातीत ध्यान र सिद्धि कार्यक्रम हो । यसैगरी यसका चार आधारभूत तत्वमा चेतनाको पाठ्यक्रम, पूर्ण मानव क्षमताको ज्ञानको प्रकाशद्वारा अन्य विषयको अध्ययन, चेतनामा आधारित शिक्षण पद्धति र स्वस्थ, तनावमुक्त तालिका तथा वातावरण रहेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री