आइतबार, ८ असार २०८२

सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्न हुँदैन : गृहमन्त्री थापा

समयपोष्ट २०७५ पुष ८ गते १४:१८

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्न नहुने बताएका छन् । आज गृहमन्त्रालयमा आयोजित मन्त्रालयको आर्थिक वर्ष ७५÷०७६को प्रथम चौमासिक प्रगति समीक्षा र गृहमन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।

Advertisement

बैठकमा बोल्दै गृहमन्त्री थापाले विकासको लक्ष्य हासिल गर्न तथा सुशासन कायम गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको टिप्पणी गरे । शान्ति सुरक्षा र विकास अन्तरसम्बन्धित रहेको कुरालाई राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालजस्ता निकायले बुझेर सोही अनुरुपको सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

सुरक्षाका लागि आवश्यक अत्याधुनिक प्रविधिका प्रयोगलाई बढाउँदै लैजानुपर्नेमा गृहमन्त्री थापाले जोड दिए । बैठकमा मन्त्रालयको पुँजीगत खर्च कम भएको विवरण पेश भएपछि गृहमन्त्री थापाले यस्तो कार्य सच्याउन मातहतका निकायहरुलाई निर्देशन दिए ।

उनले भने, ‘बजेट भएर पनि काम नभएको भए त्यहाँ लापरवाही भएको स्पष्ट छ । त्यसलाई तत्काल सच्याउनुहोस् । ’ कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले मन्त्रालयबाट आवश्यक सहयोग रहे पनि मन्त्रालय अन्तर्गतका निकायहरुले अपेक्षित गति अझै लिन नसकेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीका लागि आवश्यक स्रोत र साधनको कमी रहेको तथा आवश्यकताअनुसार प्रहरी जनशक्ति भर्ना गर्न नसकिएको गुनासो गरे ।

Advertisement

बैठकमा गृहमन्त्रालय अन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभाग, प्रहरी किताबखाना लगायतका निकायहरुले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री