शनिबार, १५ वैशाख २०८१

अहिलेको चुनौती ‘क्राइसिस म्यानेजमेन्ट’मात्र हो 

समयपोष्ट २०७३ पुष १५ गते ८:०६

सोह्र घन्टाको अँध्यारोबाट जनतालाई मुक्त गराउनुभयो, यो सम्भव कसरी भयो ?
हामीले यसका लागि भएकै स्रोत र साधनलाई प्रभावकारी र कुशलतापूर्वक व्यवस्थापन गरेका हौं । त्यसपछि माथिल्लो मस्र्याङ्दी थपिएको हो । काठमाडौं भित्र प्रसारण लाइनको अवस्था, वितरणलगायतका  जुन किमिसको पूर्वाधारहरूको विषय छ,त्यसलाई प्रभावकारी बनाउँदै लगेका छौं र उपत्यका बाहिर पनि बनाउँदै छौं । प्रभावकारी व्यवस्थापन र इमानदारीसाथ काम गरेकाले अहिले लोडसेडिङमुक्त काठमाडौं सम्भव भएको हो । मुख्य व्यवस्थापनको कुरा रहेछ । अहिले आपूर्ति, माग, ट्रान्सफर्मर सबस्टेसनलगायतका पूर्वाधारलाई व्यवस्थित गरिएको छ । विद्युत् प्रणाली नेपालमा १० वटा आइसोलेसनमा चलिरहेको छ, भारतसँग सिक्रोनाइज छैन, हरेक समय लोड सिफ्ट गर्नुपर्ने हुन्छ । भारप्रेषण केन्द्रले प्रभावकारी सञ्चालन गरयो भने त्यत्तिकै लोड कम हुन्छ । अहिले त्यो प्रभावकारी रूपमा अघि बढेको छ । 
मुख्य कुरा भनेको जुन बेला जनतालाई बिजुली चाहिन्छ, त्यतिबेला दिनसक्नुपरयो । मागको प्रक्षेपण बढी गर्ने अनि जनतालाई लोडसेडिङ गरेर बचेको ऊर्जा भनेर उद्योगलाई बढी दिन पाइँदैन । एउटा उद्योग चलेन भने ३०,४० मेगावाटको बचत भएर काठमाडौंको आधी लोडसेडिङ कम हुन्छ । हिजो कुनै उद्योगले ८ घन्टा र कुनै उद्योगले २४ घन्टा बिजुली  पाइरहेको रहेछ । हामीले अहिले ती उद्योगहरूलाई पनि समानुपातिक रुपमा वितरण गरिरहेका छौ । एउटा उद्योगले आधी काठमाडौंको लोडसेडिङ धान्न सक्छ । समग्रमा हामीले ऊर्जा वितरणमा इमानदार भएर  प्रभावकारी ढंगले काम गरिरहेका छौं ।   चुहावटबाट पनि माग व्यवस्थापन गर्न केही कम भएको छ । हामीले पिकलाई केही परिवर्तन गरेका छौं । अहिले उद्योगहरू पिकमा चल्दैन । उद्योगहरूले मात्र झन्डै ३ सय मेगावाट खपत गर्ने गरेको थियो । लोडसेडिङ नभएपछि स्वतः पिकको माग पनि घटेको छ । यसले इन्भटरको  लोडपनि कम गराएकोे छ । हामीले ऊर्जा दक्षता कार्यक्रम पनि अघि बढिरहेका छौं । यस कार्यक्रममा जनताहरुलाई  पिकमा इन्भटर, आइरन जस्ता अत्याधित बिजुली खपत गर्ने सामाग्री नचलाऔं भनेर सुसुचित गरिन्छ । यसको असर पनि देखिन थालेको छ । अहिले  सबै पावर प्लान्टहरुलाई फुलफ्लेज चलाईरहेका छौ । 

Advertisement

kulman-1

करिब १४ सयको डिमान्ड साइट र ५ सयको सप्लाइ साइट यसको म्यानेजमेन्ट त मुस्किल देखिन्छ ?
इन्टिग्रेटेड रिसोर्स प्लानिङ भनेकै त्यही हो । साँझ १४ सय मेगावाट हुन्छ, बिहान एक हजार, ११ सय मेगावाट हुन्छ । त्यो कति घन्टा भन्ने हुन्छ । बेलुका ३ घन्टा, बिहान ३ घन्टा जम्मा ६ घन्टा हुनेभयो  । बढीका ६ घन्टा नभए ४ घन्टाको डिमान्ड हो । यो चार घन्टा भनेको इन्डष्ट्रिजसहित हो । यसमा मैले चार घन्टा इन्डष्ट्रिज काटिरहेको छु । हामीले पिकिङ चलाइरहेका छौं । अहिले ५ सय मेगावाट भनेपछि बेलुकाको समयमा हामीले करिब ९ सय मेगावाट जेनेरेसन गराइरहेका छौं । किनभने हाम्रो पिकिङ पलान्टहरू छ । हामी रातिको पानी बिहान २ घन्टा र  दिउँसोको पानी बेलुका २ घन्टा जम्मा गरेर चलाउँछौं । यो सबै रिसोर्सको अप्टिमम म्यानेजमेन्टको कुरा होे । पिकलाई कसरी हिट गर्ने भन्ने कुरा आउँछ । कहाँबाट कसरी इम्पोर्ट गर्ने भन्ने छ ।  हामीले इम्पोर्ट बढी गरेका छैनौं । दिउँसो सय डेढ सयको हाराहारीमा हुन्छ । पिकको बेला २ सय ५०, २ सय ६० मेगावाटसम्मको हाराहारीमा इम्पोर्ट हुन्छ । यी सबै व्यवस्थापनका कुरा हुन् र हामीले टिममा बसेर सबै कुरा छलफल गरेर गरिरहेका छौं ।
अर्को कुरा यदि कमिटेड भएर एउटा उद्योग चलाउने हो भने काठमाडामौँमा आधी लोडसेडिङ हुन्छ ।  पिकको समयमा उद्योगको एउटा मोटर चल्दा एउटा जिल्ला नै लोडसेडिङ हुनेगर्छ । कुनै उद्योगलाई २४ घन्टा बिजुली दिन्छु भनेर प्रतिबद्धता जनाएपछि त अरू ठाउँमा बिजुली काट्नुपर्ने हुन्छ । यस अघि भएको पनि त्यहीनै हो ।  अहिले २४सै घन्टा बिजुली पाउने उद्योग कुनै पनि छैन । सबैले २० घन्टा पाएका छन् । अहिले सबैभन्दा बढी खुसी उद्योग चलाउने उद्योगपतिहरू हुनुहुन्छ । पहिले उहाँहरूभित्रै असमान रूपमा बिजुली वितरण भएको थियो । अहिले सबैलाई समान रूपमा दिँदा उहाँहरू असाध्यै खुसी हुनुहुन्छ । यो काम म एक्लैले मात्र गरेको होइन । हाम्रो टिमले गरेको हो । आज एउटा ट्रान्समिटर पड्कियो भने लोडसेडिङ भयो भन्ने स्थिति छ । त्यसैले सबै सूचना मसँग केन्द्रित छन् । कहीं केही भयो भने हाम्रो टिम तुरुन्त त्यहाँ पुगिहाल्छ ।

 
kulman-2

कुलमान आएपछि कुलेखानी रित्याएर काठमाडौं झिलिमिली पार्यो भन्ने आरोप छ नि ?
म यहाँ आउँदा कुलेखानीको लेभल १५ सय २२ मिटर थियो । अहिले १५ सय २३.५७ मिटर भएर डेढ मिटर बढेको छ । वर्षा सुरु भएकै छैन, मैले चलाए कि चलाएन यहींबाट पुष्टि हुन्छ । कुलेखानीको लेभल गत वैशाखमा १५ सय १२ थियो त्यो साउन, भदौमा लागेपछि १५ सय ३ मा झरेको छ । वर्षा लागेपछि नौ मिटर घटेको छ । वर्षा महिनाभरि कुलेखानी उनीहरू चलाउने अनि कुलमानले कुलेखानी चलायो भनेर आरोप लगाउने ?, अरू दुई महिना कुलेखानी चलाएको भए कुलेखानी रित्तिन्थ्यो, स्थिति त्यस्तो रहेछ । 
उपत्यकाबाहिरका जनताले लोडसेडिङबाट मुक्ति कहिले पाउलान् ?
उपत्यकाबाहिर पनि पाइरहेका छन् । म दुई दिनअघि विराटनगर गएको थिएँ, त्यहाँका जनता, उद्योगपति सबै एकदम खुसी थिए । धनगढी गएँ, त्यहाँ पनि त्यस्तै छ । उपत्यकाभित्र मात्र होइन, बाहिर पनि अहिले लोडसेडिङ छैन । उद्योगहरूलाई हामीले चार घन्टा फ्याल्ट कार्ड दिएका छौं । दुई सिफ्टमा सोह्र÷सत्र घन्टा चल्ने हुँदा उहाँहरूलाई ठीक छ । सबैले बराबर मात्रामा बिजुली पाएका छन् सबै एकदम खुसी छन् । 

kulman-3
 

लोडसेडिङ अन्त्यलाई निरन्तरता दिन अब कसरी सकिएला ? तपार्इंको योजना के छन् ?
हामीले निरन्तरता दिइरहेका छौं । अहिले जनता लोडसेडिङ कहिले हुन्छ भनेर हेरेर बसिरहेका छन् । हामी लोडसेडिङलाई अन्त्य गर्ने कोसिस गरिरहेका छौ । कसैकसैले त माघदेखि वैशाखसम्म लोडसेडिङ नभए सार्वजनिक पद धारणै गर्दिनसमेत भनिसकेका छन् । हिजो उहाँहरूले फागुन, चैतमा लोडसेडिङ कति हुन्छ भनेर डिक्लेयर नै गरिदिनुहुन्थ्यो । डिक्लेयर गरिसकेपछि त अरू फाइदाहरू हुने भए । त्यहाँ इन्भटर, सोलार सबैको प्लानिङहरू हुने भए । अहिले पनि उहाँहरू त्यसमै लाग्नुभएको छ । अहिले पनि लोडसेडिङ हुन्छ नै भनिरहनुभएको छ । त्यसको मतलब कहीं न कहींबाट केही न केही फाइदा होला । हामीले लोडसेडिङ हुँदैन भनेका छौं । प्रयास गर्ने हो र गरिरहेका पनि छौं । 
हामी आफ्नै उत्पादनबाट लोडसेडिङमुक्त हुने कुरा गर्छाैं तर नेपाल विद्युत् प्राधिकरणको ‘टेक एन्ड पे’ सिष्टमले निजी क्षेत्रका लगानीकर्तामा पछि प्राधिकरणले बिजुली नकिनीदिने हो कि भन्ने त्रास छ नि ? 
नेपाल आफैं आत्मनिर्भर हुने हो । फर्दर भनेको क्राइसिस म्यानेजमेन्टमात्र हो । हामी आफ्नै स्रोत र साधनको उपयोग गरेर आत्मनिर्भर बन्ने हो । त्यसका लागि जेनेरेसन मिक्स भन्छौं । जेनेरेसन मिक्सका लागि के–के गर्नुपर्यो त भन्दा रिजर्भवायर प्रोजेक्ट बनाउनु पर्यो, रन अप रिभर प्रोजेक्ट, पम्प स्टोरेज बनाउनुपर्यो । अबको विषय भनेको यी जेनेरेसन मिक्स गरेर अप्टिमम सिजनल लोडलाई ब्यालेन्स गर्ने र लोडअनुसारको जेनेरेसन हुनुपर्छ । बिहान र बेलुका इन्डक्सन लोडलाई धान्ने गरेर हामी प्लान्ट बनाउँछौं । पम्प स्टोरेज भनेको नै त्यही हो । यस्ता प्लान्टहरू बनाउनुपर्ने अवस्था छ । जेनेरेसन मिक्स त्यो हिसाबले गर्नुपर्नेछ । म विराटनगर गएपछि थाहा पाएँ डिमान्ड एकदमै छ । तपाईंहरूले लाइन दिनुभयो भने हामी यो ठाउँमा यति मेगावाटको प्रोजेक्ट ल्याउँछौं भन्ने थुप्रै हुनुहुन्छ । डिमान्ड आउँछ र अहिलेको सप्रेस्ड डिमान्डको स्थितिले अहिले लोड छैन हाम्रो विद्युत् किन्दैन भन्ने होइन । डिमान्ड प्रशस्त छ, हामीेले डिमान्ड क्रियट गर्न सकेका छैनौं । इन्डष्ट्रि आज आउँ भनेर भोलि आउने होइन । 


kulman-4

त्यसैले अब हामीले ‘टेक अर पे’ को सट्टा ‘टेक एन्ड पे’ गर्छौं भनेर हामीले भनिसक्यौं । मन्त्रीजीले त्यो घोषणा गरिसक्नुभयो । ‘टेक एन्ड पे’ नगरी अव इन्डष्ट्रि आउँदैनन् । तर ‘टेक अर पे’ मा पनि सर्टेन रिस्क हामीले र उहाँहरूले पनि लिनुपर्छ । रिस्क भन्नाले रिजर्भ मार्जिन भन्ने गर्छौं हामी । सिष्टममा १५ देखि २५ प्रतिशतको रिजर्भ मार्जिन जहिले पनि हुनुपर्छ । सिष्टम अप्टिमममा चलाइन्छ । ‘टेक अर पे’ भन्दा सतप्रतिशत लिनैपर्ने र नलिए पनि दिनैपर्ने स्थितिमा उहाँहरूले पनि केही प्रतिशत रिजर्भ मार्जिन राख्ने हो कि, त्यो पनि चाहेको बेलामा लिने नचाहेको बेलामा रिजर्भका रूपमा रहने र हाम्रो अनुमतिमा काम गर्ने । त्यो एककिसिमको छलफल हुन सक्छ कि भन्नेमात्र हो । तर, अहिलेको अवस्थामा हामीले शतप्रतिशत टेक अर पे गरेको अवस्था हो । 
विद्युत् उत्पादनसँगै प्रसारण लाइनका समस्या पनि धेरै छन्, तिनको म्यानेजमेन्ट कसरी हुँदै छ ?
क्रिटिकल प्रसारण लाइनहरू अहिले सबै कम्प्लिसन स्टेजमा छ । एक महिनाभित्र क्रिटिकल प्रसारण लाइनहरू लोडसेडिङका लागि सम्पन्न गर्नुपर्नेछ, त्यो हुन्छ । त्यसभन्दाबाहेकका दीर्घकालीन प्रसारण लाइनहरूमा हामी साना १ सय ३२ मा गएर हुँदैन, ४ सयदेखि ७ सय ६५ केबी प्रसारण लाइन बनाउन भनेर अगाडि बढिसकेका छौं । दीर्घकालीन रूपमा यी प्रसारण लाइन बन्छन् । नदी करिडोरको पनि बन्छ । हामी लङटर्म मास्टर प्लान बाएर अगाडि बढिसकेका छौं । हाम्रो बोर्डले पास गरिसकेको छ । यो बृहत् रूपमा अगाडि जान्छ । अहिलेको चुनौती क्राइसिस म्यानेजमेन्टमात्रै हो । यसको व्यवस्थापन गर्दै हामी जम्प गर्ने हो । नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने हो । 
निकै चर्चामा आएको ढल्केबर मुजफ्फरको काम कहाँ पुग्यो ?
ढल्केबर मुजफ्फरको काम पनि म्यासिभ रूपमा गइरहेको छ । दुई वर्षको काम दुई महिनामा सिध्याउ भनेर सकिँदैन । तर, दुइ महिनामा धेरै काम भएको छ, अझै एक÷डेढ महिना लाग्ला तर त्यसले हामीलाई असर गर्दैन । हामीले अर्को एरेजमेन्ट गरेका छौं । त्योबाट थप ७५ मेगावाट विद्युत् ल्याउँछौं । 
अन्तरदेशीय प्रसारण लाइनका कुराहरू पनि बेला–बेलामा उठ्ने गरेका छन् नि ?
अन्तरदेशीय प्रसारण लाइन भनेकै ट्रेडिङको विषय हो । हामीले थप प्रसारण लाइनहरू बनाउँदै छौं । बुटवल–गोरखपुर, लम्की–बरेली गर्दै छौं, यी सबै प्रसारण लाइनहरू आवश्यक हुन्छ । त्योमात्र होइन नेपाल चाइनाको केरुङको लाइन पनि हामीले अगाडि बढाउँदै छौं । 


kulman-5

नेपाल विद्युत् प्राधिकरण आफैंले सुुरु गर्दै गरेका पावर प्रोजेक्टहरू कतिवटा छन् र कहिलेसम्म सम्पन्न हुन्छन् ?
अहिले हामीले कम्पनी मोडलमा जाने भनेर माथिल्लो अरुण, दूधकोसी ,तमोर ,उत्तर गंगा यी सबै करिब २४ सय मेगावाटको पावर प्लान्टहरू रेडिमेड अवस्थामा अगाडि बढ्दै छन् । तत्कालै उत्पादनमा जाने भनेका अन्डर कन्सट्रक्सनका प्रोजेक्टहरू नेपाल विद्युत् प्राधिकरणको तामाकोसी एकदेखि ढेड वर्षभित्र हुन्छ । चिलिमेका प्रोजेक्टहरू २ सय ७० मेगावाटजत्तिको हुन्छ, हाम्रै प्रोजेक्टहरू पनि चमेलिया, कुलेखानी सात,आठ महिनामा आउँछ । प्राधिकरणका सबै सिस्टर कम्पनीहरूबाट थपिँदा हामीसँग ८ सय मेगावाटको जेनेरेसन हुन्छ । तामाकोसी ४ सय ५६ मेगावाट डेढ वर्षभित्र थपिन्छ, करिब ५ सय मेगावाट दुई वर्षभित्र थप्छौं । ३ वर्षभित्र ८ सय मेगावाट थप्छौं । यो आइसकेपछि पनि हामी आत्मनिर्भर हुन सक्दैनौं तर आत्मनिर्भर हुनका लागि त्यसले धेरै ठूलो काम गर्छ ।  
सर्टेन समयपछि विद्युत् आयोजनाहरू सरकारको हुन्छ भन्ने कुरा के हो ?
सरकारको त्यो अहिलेदेखिको प्लान छ । २५,३० वर्षपछि त्यो प्लान्ट कसले लिने प्राधिकरणले लिने कि छुट्टै कम्पनीले लिने अथवा उनीहरूले चलाएर सरकारलाई रोयल्टीमात्र दिने हो कि एउटा मोडालिटी त्यहीबेला आउँला । अहिले नै यो भन्न सकिँदैन । अहिलेको म्यानेजमेन्ट के गर्ने, सरकार कसरी अगाडि बढिरहेको छ भन्ने कुरा मुख्य हो । जनताको लगानीमा जलविद्युत्् बनाउने भनेर अहिले प्रधानमन्त्रीदेखि, ऊर्जामन्त्रीसम्मको निर्देशन आएको छ । ‘नेपालको पानी जनताको लगानी’ यसलाई कार्यान्वयन गर्नुपर्छ । नेपालको कायापलट हुने यसैबाट हो । यसले ऊर्जाको मात्र होइन, नेपालको समग्र विकास र नेपाली जनताको इकोनोमीलाई अपग्रेड गर्ने कुरा गर्छ । 
नेपाल विद्युत् प्राधिकरणलाई दुई भागमा विकास गरेर एउटाले आयोजना विकास गराउने अर्कोले प्रसारण लाइनतिर हेर्ने भन्ने के आएको थियो, त्यो कस्तो हो ?
त्यो भनेको प्रणाली रिफर्म र प्राधिकरण बलियो हुने कुरा हो । प्राधिकरणको  डेभलपमेन्ट मोडालिटी र वर्किङ मोडालिटी परिवर्तन हुन्छ । सबै सिस्टर कम्पनीका रूपमा अगाडि बढ्छ । अहिले जुन प्राधिकरणले सबै आफैंले हेरिरहेको छ त्यो वर्किङ मोडालिटी चेन्ज हुन्छ । प्राधिकरण प्राधिकरण नै रहन्छ । तर, स्टोङ इन्टिग्रेटेड रहन्छ । चिलिमे पनि प्राधिकरणकै कम्पनी हो । राम्रोसँग काम गरिरहेको छ त्यसबाट प्राधिकरणलाई धेरै फाइदा छ । जस्तो तामाकोसी आइरहेको छ, हामी ट्रेडिङ कम्पनीमा गर्छौं, इन्जिनियरिङमा गछौं, यी सबैबाट प्राधिकरण एकदम स्ट्रोङ हुन्छ । प्रभावकारी ढंगबाट त्यो इन्डिभिज्योल्ली स्पेसिफिक एक्सपर्टिज चाइने हो । त्यो स्पेसिफिक एक्सपर्टिजलाई स्पेसिफिक एक्सपर्टिजको टिमले नै काम गर्छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री