सानफ्रान्सिस्कोमा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना हुने
नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहित अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा आगामी डिसेम्बर २१ मा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गरिने भएको छ। अवार्ड कार्यक्रम हिमालयन फाउन्डेशन कर्पोरेशनले विभिन्न संघसंस्थाहरूको सहकार्यमा आयोजना गर्न लागेको हो।
आयोजक संस्थाका संस्थापक यज्ञलाल श्रेष्ठका अनुसार यो अवार्ड कार्यक्रमले नेपाली चलचित्रको प्रचार–प्रसारमा उल्लेखनीय योगदान पु¥याउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्र क्षेत्रलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
अवार्डको सफल आयोजनाका लागि हिमालयन फाउन्डेशनसँगै गोल्डन नेपाली मुभी मेकर एलएलसी, सोमनामे एलएलसी, राजपुत ग्रुप एलएलसी, र लेटी एलएलसी जस्ता संस्थाहरूको सहकार्य रहेको छ।
डिसेम्बर २१ मा आयोजना हुने अवार्ड कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा क्रियाशील कलाकारहरूको विशेष उपस्थिति रहनेछ। आयोजकका अनुसार अवार्ड कार्यक्रमसँगै डिसेम्बर २२ मा नेपाल परेड को समेत आयोजना गरिनेछ, जसले नेपाली कला, संस्कृति र परम्परालाई विश्वसामु उजागर गर्नेछ।
अवार्डको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। यस कार्यक्रमका आयोजकमध्येका एक रविराज बस्नेतले अवार्ड र परेड कार्यक्रममा नेपाली समुदायको सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।
प्रतिक्रिया