मंगलबार, २४ असार २०८२

‘डिशहोम १२खरी कथा प्रतियोगिता—२०८१’ को नतिजा सार्वजनिक

समयपोष्ट २०८१ मंसिर १६ गते १५:४२


बाह्रखरी मिडियाले १२खरी कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता—२०८१’ को नतिजा सार्वजनिक गरेको छ ।

Advertisement

यस वर्षको डिशहोम १२कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । यस्तै, कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार प्राप्त गरेको छ ।

आइतबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा छैटौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ९३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरियो ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बाह्रखरी उत्कृष्ट कथा–२०८१ कथाकृतिको लोकार्पणका साथै प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कथाकारसहित उत्कृष्ट सबै २५ कथाकारहरूलाई पुरस्कृत गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८१ मा उत्कृष्ट २५ कथाका कथाकारहरूमा वर्णानुक्रमानुसार क्रमशः अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजंग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ रहेका छन् ।

Advertisement

कथा लेखन प्रतियोगिताको छैटौँ संस्करणमा उत्कृष्ट २५ कथाको सँगालो बाह्रखरी उत्कृष्ट कथा–२०८१ पुस्तक पब्लिसिङ पार्टनर फाइनप्रिन्टले बजारमा ल्याएको छ । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।

यस वर्ष पनि विगतमा झैँ नेपालसहित भारतका मुम्बई, असम, दार्जिलिङ, मणिपुर, गुवाहाटी तथा अन्य मुलुकहरू चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्डलगायत देशमा बसोबास गर्ने नेपाली भाषी कथाकारहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री