आइतबार, १३ फागुन २०८०

बौद्धिक अपाङ्ग विद्यालय आर्थिक सङ्कटमा

समयपोष्ट २०८० मंसिर २० गते १४:५८

Advertisement

नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्र सञ्चालन गर्न आर्थिक सङ्कटमा परेको छ । यो दिवा सेवा केन्द्रमा नेपालगञ्ज उपमहानगरपालिकालगायत जिल्लाका अन्य स्थानीय तहबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशलकुमार चौधरीले बताउनुभयो । उहाँले विद्यालय भवन र आर्थिक स्रोतको अभावमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विद्यालयको वातावरण दिन नसकिएको सुनाउनुभयो ।

“विसं २०४९ देखि सुरु भएको दिवा सेवालाई प्राप्त हुँदै आएको वैदेशिक अनुदान रोकिएपछि केन्द्रमा आर्थिक सङ्कट उत्पन्न भएको छ, २०४९ सालदेखि अमेरिकन नागरिक फादर कोरन ज्याकको सहयोगमा मङ्गलप्रसाद माविमा सुरु भएको सेवा केन्द्र १६ वर्षसम्म राम्रोसँग सञ्चालन भएको थियो”, उहाँले भन्नुभयो, “सहयोग रोकिएपछि सेवा केन्द्र मुक्तिपुरमा बहाल लिएर सञ्चालन गरिएकामा १० वर्षदेखि बाँके गाउँस्थित सरस्वती आधारभूत विद्यालयमा सञ्चालन हुँदै आएको छ ।”

बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्र सुस्तः मनस्थिति अभिभावक सङ्घ नेपालगञ्जको प्रत्यक्ष रेखदेखमा अहिले जसोतसो सञ्चालनमा रहेको छ । बाह्य सहयोगबाहेक कुनै पनि स्रोत नभएको सो सेवा केन्द्रको मासिक खर्च रु ६० हजार रहेको सुस्तः मनस्थिति अभिभावक सङ्घका अध्यक्ष गोकर्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमबाट शिक्षक, रिक्सा चालकको पारिश्रमिक, बालबालिकाको खाजा खर्चदेखि केन्द्र सञ्चालनमा खर्च हुन्छ । विगत लामो समयदेखि न्यून तलबमा शिक्षक विराज सिंहले केन्द्रमा आउने बौद्धिक अपाङ्ता भएका बालबालिकालाई पढाउने काम गर्दै आउनुभएको छ ।

“सेवा केन्द्रलाई आर्थिक समस्या त छ नै, केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको अभावका साथै बालबालिकामैत्री वातावरण छैन”, आचार्यले भन्नुभयो, “केन्द्र रहेको सरस्वती विद्यालयले समय–समयमा विभिन्न खाले समस्या सिजना गरिरहेको हुन्छ ।”

बौद्धिक अपाङ्ग विद्यार्थीमैत्री भवन नभएका कारण गर्मी र जाडोको समयमा पठनपाठनमा समस्या हुने गरेको बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्रका शिक्षक सिंहले जानकारी दिनुभयो । बालबालिकालाई खेल, मनोरञ्जन, अभ्यास, व्यावहारिक ज्ञानका माध्यमबाट पठनपाठन गराइने उहाँको भनाइ छ । “प्रत्येक बालबालिकाको व्यक्तिगत फाइल बनाई अवस्था के थियो, के सुधार भयो भन्ने कुराको विवरण राख्नाका साथै बालबालिकाहरूलाई सचरित्र वर्णन गराएर अनकुरण गराउने गरिन्छ”, शिक्षक सिंहले भन्नुभयो, “शौचालय र खानेपानीको पनि अभाव, साँघुरो कक्षा कोठा भएकाले विद्यार्थीलाई पठनपाठनमा धेरै असहज भइरहेको छ ।”

पूर्वाधार अभावमा वौद्धिक अपाङ्गता भएका विद्यार्थी नेपालगञ्जको प्रचण्ड गर्मी र कठ्याङ्ग्रिने जाडोमा जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् । सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्रका लागि जस्ता पाताले छाएको एउटामात्र साँघुरो कोठा छ । दिवा खाजाका लागि भान्साका भाँडाकुँडा र शैक्षिक सामग्रीसमेत राखिएको उक्त कक्षा कोठामा ३४ विद्यार्थी भर्ना रहेका छन् ।

नेपालगञ्जको मौसम चिसो हुँदै गएको छ । त्यसै पनि शारीरिक र मानसिक रुपमा कमजोर बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरो कोठामा चिसोले कठ्याङ्ग्रिएर बस्नुपर्दा उनीहरू शिक्षा आर्जनभन्दा पनि यातना भोग्दै गरेको आभाष हुने गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाका संयोजक गोरख थापाले बौद्धिक अपाङ्ग दिवा सेवा केन्द्रमा भौतिक पूर्वाधारको कार्यक्रम नरहेको बताउनुभयो । बौद्धिक अपाङ्गता भएका बालबालिकाको छात्रवृत्तिबापतको रकम उपमहानगरपालिकाबाट उपलब्ध गराइँदै आएको उहाँको भनाइ छ ।

उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्द रेग्मीले बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकको बेवास्ताका कारण पनि केन्द्र राम्रोसँग सञ्चालन हुन नसकेको बताउनुभयो । वडा कार्यालयबाट सम्भव हुने सहयोग गर्दै आएको जानकारी दिँदै उहाँले नेपालगञ्जका सबै वडा कार्यालय र उपमहानगरपालिकाबाट पनि सहयोग हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री