शुक्रबार, २० माघ २०७९

बिदामा घर आएका थिए सशस्त्रका कोली, भेट्न बोलाएर हत्या

समयपोष्ट २०७९ मंसिर १८ गते १४:४६

Advertisement

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् ।

कोली आज महेन्द्रनगरस्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो । बिदामा घर आएका बखत मायाको हत्या गरेको कोलीमाथि आरोप छ ।

मायाका परिवारजनले कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनको खोजी भइरहेको थियो ।

Advertisement

यही मङ्सिर १३ गते मायाको बैतडीमा घाँटी रेटेर हत्या गरिएको थियो । मायाको साथमा रहेकी नेहा लुहारको समेत घाँटी रेटेर हत्याको प्रयास गरिएको थियो । घाइते अवस्थामा भेटिएकी नेहाको हाल उपचार भइरहेको छ । बैतडीको शिवनाथ गाउँपालिका–६ स्थित शिवनाथ मन्दिर नजिकै मायाको शव फेला परेको थियो भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।

कास्कीको पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत कोली बिदामा घर आएका बेला उक्त घटना घटेको हो । घटना लगत्तै कोली गाउँबाट फरार रहेपछि हत्यामा उनको संलग्नता रहेको आशंका गरिएको थियो । प्रहरी श्रोतका अनुसार प्रारम्भिक बयानमा कोलीले मायाको हत्या गरेको स्विकार गरेका छन् । उनीहरूबीच प्रेम सम्बन्ध थियो । कोली र माया छिमेकी हुन् । दुई दिन पहिल्यै कोलीले मायाको मोबाइल खोसेर लगेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा मुद्दा चलिरहेकाले कोलीलाई आजै बैतडी पठाउने तयारी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री