सोमबार, ३ कार्तिक २०८२

बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण

समयपोष्ट २०८२ कार्तिक ३ गते १५:२२

Advertisement

भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलो उन्नत जातको आलुको बीउ वितरण गरिएको छ ।

स्थानीयस्तरमा उत्पादन हुँदै आएको आलुमा रोग र कीराको सङ्क्रमण बढेपछि वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्न बीउ वितरण गरेको हो । वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार बोखिमका करिब ३५० भन्दा बढी किसानलाई मागको आधारमा काभ्रेबाट ल्याइएको आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

वडाले यसअघि तरकारी तथा फलफूल उत्पादनमा आवद्ध किसानलाई विभिन्न कार्यक्रममार्फत प्राविधिक सहयोग गर्दै आएको जनाएको छ । उन्नत बीउ वितरणसँगै किसानलाई रोग व्यवस्थापन, मलको प्रयोग र भण्डारण प्रविधिबारे प्रशिक्षण दिने तयारीसमेत वडाले गरेको छ ।

विगतमा खेती गरिरहेको आलुमा रोगको सङ्क्रमण बढेको अवस्थामा उन्नत जातको बीउ पाउँदा खुसी लागेको स्थानीय किसान गणेशकुमार विकले बताउनुभयो । आलु भण्डारणका क्रममा कीरा पर्ने समस्या रहेकाले नयाँ बीउ लगाएपछि त्यो रोगबाटमुक्त हुने आशा रहेको उहाँले बताउनुभयो ।

Advertisement

“हाम्रो गाउँमा हरेक घरमा आलु खेती हुन्छ”, उहाँले भन्नुभयो, “तर रोगले गर्दा उत्पादन घटेको थियो । नयाँ बीउ लगाउँदा उत्पादन राम्रो हुने र कीरा कम हुने आशा गरेका छौँ ।” बोखिम क्षेत्रमा अधिकांश किसान आलु, मकै र तरकारी खेतीमा निर्भर छन् । यहाँको उचाइका कारण आलु खेती उपयुक्त भए पनि गुणस्तरीय बीउ र कीरा नियन्त्रणको ज्ञान अभावमा किसानले समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री