शुक्रबार, १६ चैत २०८०

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले पर्यटन क्षेत्र त्रसित

समयपोष्ट २०७८ मंसिर १६ गते १५:३३

Advertisement

सिबी अधिकारी
सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नोभेम्बर महिनामा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बङ्गलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महिना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबर महिनामा २३ हजार २८४ पर्यटक आएका थिए । तुलनात्मक रुपमा पर्यटक आगमनमा झिनो रुपमा सुधार देखिए पनि बाह्य पर्यटकको सङ्ख्या बढ्न सकेको छैन ।

बाह्य पर्यटक आगमनको पछिल्लो दुई महिनाको तथ्याङ्क हेर्दा झिनो रुपमा सुधार भएको छ । यद्यपि, पर्यटकको सङ्ख्या भने बढ्न सकेको छैन । यस वर्षको अघिल्लो महिनाको तुलनामा १२ प्रतिशत हाराहारी पर्यटक बढेको छ । पर्यटक आगमन बढेको भए पनि सङ्ख्यात्मक रुपमा कम पर्यटक भित्रिएको बोर्डका निर्देशक मणि लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनले लय समातेको देखिन्छ तर सङ्ख्यात्मक रुपम कम नै हो । यो अवधिमा २० देखि ३० प्रतिशत पर्यटक बढ्ने अनुमान गरिएको थियो ।”

सन् २०१९ को अक्टोबर र नोभेम्बरलाई तुलना गर्दा पर्यटक औसत झण्डै उस्तै छ । उक्त वर्ष अघिल्लो महिनाको तुलनामा १३ प्रतिशत पर्यटक बढेका थिए । सन् २०१९ को अक्टोबारमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महिनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए ।

यसरी पर्यटक आगमनको औसत हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको सङ्ख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । अघिल्लो वर्ष सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेब्रुअरीमा अत्याधिक सङ्ख्यामा पर्यटक आएका थिए । सन् २०२९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्याङ्क छ ।

यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महिनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित

मुलुकको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीको नराम्ररी असर परेको छ । विदेशी मुद्राआर्जन गर्ने प्रमुख स्रोत बाह्य पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ ।

महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनःकोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेका छन् । नेपाल सरकारले पनि उक्त भेरियन्टको जोखिमलाई ध्यानदिँदै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरिसकेको छ ।

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल एशोसिएस अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागार्इंले विश्वव्यापी रुपमा चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई थप त्रसित तुल्याएको बताउनुभयो । उहाँले हल्ला अनुसार कस्तो प्रभाव हुन्छ अहिले नै भन्न नसकिने भए पनि स्वास्थ्य सावधानी अपनाएर व्यवसाय सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । अहिले पनि जापान हिँडेका ११ नागरिक मलेसियामा गएर अड्किएको भन्दै उहाँले अध्यागमन, नागरिक उड्डयन प्राधिकरणलगायत निकायले चनाखो भएर समयमै सही सूचना प्रर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

“ओमिक्रोन भेरियन्टको हल्ला विश्वभरी छ, तर नेपालले विशेष सावधानी अपनाउनुपर्छ, स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेर अन्तरराष्ट्रिय उडान भने रोक्न हुदैन”, उहाँले भन्नुभयो । हाल जापान, इजरायल, अष्ट्रेलिया, बेल्जियम, अष्ट्रियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइसकेका छन् ।

बोर्डका निर्देशक लामिछानेले नयाँ भेरियन्टले डिसेम्बर महिनामा पर्यटक आगमन घट्ने होकी भन्ने चिन्ता बढेको बताउनुभयो । उहाँले नयाँ भेरियन्ट डेल्टाभन्दा बढी सङ्क्रात्मक हुने हल्लाले पनि विश्व पर्यटन बजारलाई त्रसित बनाएको छ । नेपालमा अहिले कुनै जोखिम नरहेपनि दुई साताको परिणामको पर्खाइ र हेरेको अवस्थामा नेपाली पर्यटन क्षेत्र रहेको उहाँको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री