मंगलबार, ३१ असार २०८२

राजीनामापछि गुप्ताले भने-नखाएको विष पनि लाग्दो रहेछ

समयपोष्ट २०८२ असार ३१ गते ११:५३

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफूमाथि लागेका आरोपहरूको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनी राजीनामा दिएको बताएका छन्।

गुप्तामाथि मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि २५ लाख घुस मागेको आरोपसहितको अडिओ सार्वजनिक भएको थियो। यो अडिओ २०८१ पुसमा रेकर्ड गरिएको भनिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घुस रकम राखिएका दुई झोला, नोट नम्बर, र बन्डलको फोटोसहित उजुरी परेको छ, जसको प्रारम्भिक छानबिन सुरु भएको बताइएको छ।

राजीनामापछि मन्त्री गुप्ताले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै आफू ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको दाबी गरेका छन्। उनले लेखेका छन्, “कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा गरेको छु।”

उनले थप लेखे, “यो प्रकरणमा मलाई फसाउने षड्यन्त्र भएको छ। म निर्दोष छु र सत्य छिट्टै बाहिर आउनेछ। म पार्टीको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नेछु र जनताको सेवामा समर्पित रहनेछु।”

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री