शुक्रबार, १४ वैशाख २०८१

प्रदेश नं ५ को राजधानी बुटबल, कपिलबस्तु कि दाङ ?, यस्ता छन् आधार

समयपोष्ट २०७४ पुष २ गते ६:२५

कृष्ण दर्नाल
पाल्पाका बासिन्दा, राजनीतिक दल र जनप्रतिनिधिले प्रदेश नं ५ को राजधानी रुपन्देही जिल्लाको बुटवलमा बनाउनुपर्नेमा जोड दिएका छन ।

Advertisement

पाल्पाका जननिर्वाचित सांसद, राजनीतिक दल, पूर्वसांसद र बासिन्दाले प्रदेशको राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई ध्यानमा राखी बुटवलमा नै राजधानी बनाउन उपयुक्त रहेको जनाएका छन् ।

पूर्वाधारको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, प्रशासनिक पहुँच र सुगमता, पर्यटकीय क्षेत्र लुम्बिनी र शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल नजिकको शहर भएकाले पनि ५ नं प्रदेशको केन्द्र बुटवलमै हुनुपर्ने पाल्पालीको माग रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले बताए ।

“देशको सन्तुलित विकास, जनताको हित र सुविधालाई सम्बोधन गर्न केन्द्र, प्रदेश र स्थानीय तहको व्यवस्था गरिएको केन्द्र तोक्दा सबैलाई पायक पर्छ”, उनले भने ।

नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य तथा नवनिर्वाचित प्रदेश सांसद तुलाराम घर्तीले प्रदेश राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई हेर्नुपर्ने बताए ।

नेकपा एमाले का पोलिटब्यूरो सदस्य दलबहादुर राना, प्रदेशसभा सदस्य पुरनमान बज्राचार्य, युवराज खनाल र नारायण आचार्यले प्रदेशको राजधानी बुटबल सबैलाई पायक पर्ने जिकिर गरे।

एमालेका धनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका चक्रब्यू थापा, राप्रपा प्रजातान्त्रिक का डुलबहादुर कुँवर, नेकपा मालेका धनराज पौडेल, सरोकार भएका टीकाराम पौड्याल, जिल्ला समन्वय समितिका सभापति दयाराम बस्याल, तानसेन नगरपालिका प्रमुख अशोक शाहीले पनि बुटबललाई राजधानी तोक्नुपर्ने माग गरे ।

कपिलवस्तु बनाउन सांसदको माग
प्रदेशको राजधानी कपिलवस्तु बनाउन यहाँबाट नवनिर्वाचित प्रतिनिधिसभाका सांसद तथा प्रदेशसभाका विधायकले माग गरेका छन् ।

सांसद तथा विधायकले हरेक दृष्टिले प्रदेशको राजधानी कपिलवस्तु नै उपयुक्त हुने भन्दै राजधानी बनाउन जोडदार माग गरेका हुन् ।

भगवान् गौतम बुद्धका पिता शुद्धोधनको राजधानी तिलौराकोट रहेको र बुद्धसँग सम्बन्धित सयबढी पुरातात्विकस्थल यस जिल्लामा रहेकाले प्रदेश नं ५ को राजधानी कपिलवस्तु नै अति उत्तम हुनेमा सबैको जोड थियो ।

कपिलवस्तु क्षेत्र नं १ का नवनिर्वाचित सांसद चक्रपाणि खनाल बलदेवले भौगोलिकरुपमा पनि ५ नं प्रदेशको केन्द्र कपिलवस्तु नै पर्ने र सांस्कृतिक, पुरातात्विक दुवै हिसाबले राजधानीका लागि उपयुक्त ठाउँ भएको विचार व्यक्त गरे ।

त्यस्तै अर्का सांसद बृजेशकुमार गुप्ताले पनि बौद्धकालीन संघीय राज्य कपिलवस्तु रहेको र गणतन्त्रको संघीय राजधानी पनि कपिलवस्तुमै हुनुपर्ने जिकिर गरे।

कार्यक्रममा प्रदेश विधायक विष्णु पन्थी, दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव, अर्जुन केसी लगायतले पनि प्रदेश राजधानी कपिलवस्तु बनाउन सदन तताउन परे पनि तयार भएको उद्घोष गरे ।

पूर्वाधार अध्ययनका लागि प्रधानमन्त्री कार्यालयबाट खटिएको सरकारी टोलीले बुटवलमा पर्याप्त पूर्वाधार भेटिएकाले तत्काल प्रदेश राजधानीका रुपमा बुटवल नै उपयुक्त हुने निष्कर्ष निकालेकै दिन कपिलवस्तुका सांसदको भने यस्तो भनाइ आएको हो ।

उता संविधानको धारा २८८ को उपधारा २ मा भने संविधानबमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ भन्ने कुरा उल्लेख छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री