भाइटीकाको उत्तम साइत सार्वजनिक
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ को तिहार पर्वको साइत र महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ।
कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए। समितिका सदस्य प्रा देवमणि भट्टराईका अनुसार मध्याह्नकालमा टीका लगाउन सर्वसाधारणलाई बाधा नभए पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको शुभ साइत दिइएको छ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने उनले बताए। यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ। सो दिन यमदीप दान, धन त्रयोदशी र धनतेरस पर्व मनाइन्छ। कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती पर्व परेको छ। कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र साँझ लक्ष्मीपूजा गरिन्छ। सोही दिन साँझ दीपमालिका पनि हुन्छ। कात्तिक ३ गते दिउँसो २:५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रअनुसार लक्ष्मीपूजा सायंकालमा गर्नुपर्ने र औँशीको स्नान, दान कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्ने समितिले जनाएको छ। औँशी तिथि कात्तिक ४ गते दिउँसो ४:२९ बजेसम्म रहनेछ।
कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्म (म्ह) पूजा गरिन्छ। आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ। ‘कृत्यवाटिका’ ग्रन्थअनुसार यो पूजा सायंकालमा गर्नुपर्छ। नेवार समुदायका पञ्चाङ्गकार सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीले पनि आफ्ना पात्रोमा कात्तिक ५ गते नै आत्म (म्ह) पूजा उल्लेख गरेका छन्। सोही दिन सूर्योदयमा नेपाल संवत् ११४६ को नयाँ वर्ष पनि मनाइन्छ।
कात्तिक ६ गते बिहीबार भाइपूजा वा किजापूजा मनाइन्छ। मङ्सिर २ गते बिहान ७:०४ बजेसम्म द्वितीया तिथि रहने भएकाले मध्याह्नकालमा भाइटीका लगाइने शास्त्रीय मान्यता छ। शास्त्रअनुसार भ्रातृपूजा दाजुभाइ दुवैलाई बुझाउँछ र ज्येष्ठताको क्रममा टीका लगाउनु शास्त्रसम्मत हुने समितिले जनाएको छ।
प्रतिक्रिया