शुक्रबार, १४ वैशाख २०८१

नेपाली बजारमा स्याङयोङको ‘रेक्ष्टन’ गाडी सार्वजनिक, यस्ता छन् बिशेषता

समयपोष्ट २०७४ मंसिर २८ गते ३:२२

स्याङयोङ मोटर्सले नेपाली बजारमा प्रिमियम गाडी रेक्ष्टन सार्वजनिक गरेको छ । नेपालका लागि स्याङयोङको आधिकारिक विक्रेता आईएमएस मोटर्सले बुधवार राजधानीमा एक कार्यक्रम आयोजना गरी नयाँ गाडी सार्वजनिक गरेको हो ।

Advertisement

२ दशमलव २ लिटर डिजल इञ्जिन भएको नयाँ मोडलको यो गाडीले ४ सय २० एनएम टर्क र १ सय ८१ पीएस शक्ति उत्सर्जन गर्छ ।

६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटिक ट्रान्समिशनमा उपलब्ध गाडीको मूल्य क्रमशः १ करोड ११ लाख ९९ हजार र १ करोड १९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो मूल्यमा अहिले ४ लाख छुट दिइएको कम्पनीले जानकारी दिएको छ ।

स्याङयोङ रेक्ष्टन गाडी सार्वजनिक समारोहमा आईएमएस ग्रूपका अध्यक्ष दीपक मल्होत्राले गाडीका पार्टपुर्जा र सर्भिस केन्द्रको पनि सहज उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । रिसेल भ्यालूका लागि पार्टपुर्जाको उपलब्धता तथा सहज सर्भिस सेण्टर जरुरी रहेकाले आफ्नै सर्भिस सेण्टर सञ्चालनमा ल्याएर सेवा दिने उनले बताए ।

यस कोरियाली एसयूभीमा ३ वर्ष वा ६० हजार किलोमिटरसम्मको वारेण्टी प्रदान गरिएको छ । यसको डिजाइनमा ईएक्सडी २ सय २० डिजेल इञ्जिन र मर्सिडिज बेञ्ज ७ स्पिड अटोमेटिक ट्रान्समिशन छ, जसले आरामदायी यात्रा तथा सहज ड्राइभिङको अनुभव दिने कम्पनीले जानकारी दिएकोे छ ।

यो गाडी फोर डब्ल्यूडी टेक्नोलोजीमा आधारित छ । चालकले रियर ह्विल ड्राइभ मोड पनि प्रयोग गर्न सक्ने बताइएको छ । फ्रण्ट ह्विल डबल विसबोन र रियर ह्विल मल्टी लिङ्क इण्डिपेण्डेण्ट सस्पेन्सनले उच्चतम ड्राइभिङ स्थिरता प्रदान गर्ने कम्पनीको दाबी छ । नयाँ रेक्ष्टनमा नौओटा एयर ब्याग र क्वाड फ्रेम प्रयोग गरिएको छ ।

साथै, यसमा ईबीडी, एबीएस, एण्टी रोल ओभर प्रोटेक्सन, ब्रेक असिष्ट सिष्टम, हिल असिष्ट सिष्टम, हिल डिसेण्ट कण्ट्रोल, अल डिस्क ब्रेक र डे टाइम रनिङ ल्याम्प प्रयोग गरिएको छ । त्यसैगरी, यसमा ८ इञ्चको एचडी स्क्रिन, १० स्पिकर सिष्टम, स्वचालित ढोका, पूर्ण स्वचालित एयर कण्डिसन, पछाडि २ सय २० भोल्टको इन्भर्टर र सामान राख्न र निकाल्न स्मार्ट टेलगेट छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री