असोज १ गतेदेखि सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न निर्देशन
यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सबै सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीहरूलाई निर्देशन दिएको छ। मंगलबार जारी एक सूचनामा विभागले सवारी दर्ता, नामसारी, र नवीकरणको प्रक्रियामा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गरेको हो।
विभागको सूचनामा भनिएको छ, “सवारी दर्ता, नामसारी, र नवीकरणका क्रममा सबै सवारी धनीहरूले यथाशीघ्र सम्बन्धित यातायात व्यवस्था कार्यालयमा सम्पर्क गरी हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरिन्छ।” यो निर्देशन प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा लागू हुनेछ।
यो निर्णय २०८१ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले गरेको थियो। उक्त बैठकले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने नीति पारित गरेको थियो। सोही निर्णयअनुसार विभागले सवारी धनीहरूलाई इम्बोस्ड नम्बर प्लेट जडानका लागि निर्देशन जारी गरेको हो।
प्रतिक्रिया