बिहीबार, १३ वैशाख २०८१

बैतडी, कालीकोट,डोल्पा, दार्चुला,बागलुङ र ताप्लेजुङका सवै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते ५:२५

दार्चुला

Advertisement

दार्चुलामा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ । 
प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको जिल्लामा ठगुन्नाले २८ हजार ९९८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी जनसमाज पार्टी नेपालका धनबहादुर कुँवरले ६१०, नयाँ शक्ति नेपालका जीतेन्द्र महराले ३०८ र राष्ट्रिय जनमोर्चाका मनवीर दमाईंले ५१ मत प्राप्त गर्नुभएको छ । कुल खसेको ५४ हजार ५४७ मतमध्ये दुई हजार ३४७ मत बदर भएका छन् । 

त्यसैगरी प्रदेशसभा (क) मा एमालेका ग्याल्बुसिहं बोहरा १६ हजार ५३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मदन गिरीले १२ हजार ५९८ मत प्राप्त गर्नुभएको छ । 

यस्तै नयाँ शक्ति पार्टी नेपालका नन्दनसिंह महरले १६६, जनसमाजवादी पार्टी नेपालका मनोज दमाईंले २९८, राष्ट्रिय जनमोर्चा पार्टीका मदन दमाईंले ३३ मत प्राप्त गर्नुभएको छ । यहाँ एक हजार ५३ मत बदर भएका छन् । 
यसैगरी प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनका मानबहादुर धामी विजयी हुनुभएको छ । धामी १२ हजार ९५६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगदीशबहादुर पालले नौ हजार ५७५ मत प्राप्त गर्नुभएको छ । 

यस्तै जनसमाजवादी पार्टी नेपालका हरिभानसिंह ठगुन्नाले ५२७, नयाँ शक्ति पार्टी नेपालका बहादुरसिंह ठगुन्नाले ५८ र स्वतन्त्र रघुवीरसिंह ठगुन्नाले १८७ मत प्राप्त गर्नुभएको छ भने ९९३ मत बदर भएको छ । मतगणनाको औपचारिक घोषणा हुन भने अझै बाँकी छ । 

ताप्लेजुङ

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै स्थानमा वाम गठबन्धनले विजय हासिल गरेको छ । 

प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लामा प्रतिनिधिसभा सदस्यमा एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत प्राप्त गर्नुभएको छ । 

प्रदेशसभा निर्वाचन क्षेत्र(क) मा एमालेका बलबहादुर चाम्चुहाङ १५ हजार ४१७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लीलादेवी बोखिमले १० हजार ९७४ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै प्रदेशसभा(ख) मा नेकपा(माओवादी केन्द्र)का टंक आङ्बुहाङ १२ हजार १९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपेन्द्रकुमार सेन्दाङले सात हजार ५८६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । 

 

बागलुङ

प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ बागलुङ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । 

प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई पराजित गर्नुभएको छ । पाठकले ३३ हजार ६४५ र उहाँका निकटतम प्रतिद्वन्द्वी खड्काले २० हजार ६१६ मत प्राप्त गर्नुभएको छ । 

यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पराजित गर्नुभएको छ । पौडेलले २८ हजार ८२७ र पुनले १९ हजार ९०५ मत लिनुभएको छ । 
प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (क) मा पनि एमालेका इन्द्रलाल सापकोटाले जित हासिल गर्नुभएको छ । एमालेका जिल्ला अध्यक्ष सापकोटाले काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापालाई पराजित गर्नुभएको हो । 

सापकोटाले १७ हजार ९१५ र काँग्रेसका थापाले ११ हजार ९८९ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशसभा २ मा वाम गठबन्धनबाट चुनाव लड्नुभएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पूर्वसांसद काँग्रेसका प्रकाश शर्मा पौडेललाई पराजित गर्नुभएको छ । थापाले १५ हजार ६३६ र पौडेलले नौ हजार ९४ मत प्राप्त गर्नुभएको छ । 
यस्तै प्रतिनिधिसभा २, प्रदेशसभा (क) मा पनि माओवादी केन्द्रका चन्द्र बुढाले काँग्रेसका मञ्जेशबम मल्ललाई पराजित गर्नुभएको छ । बुढाले १७ हजार ४१५ र मल्लले ११ हजार ५४६ मत पाउनुभएको छ । 
प्रदेशसभा (ख) मा पनि वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको छ । घर्तीले ११ हजार ८८४ र उहाँका निकटतम प्रत्याशी काँग्रेसका जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको छ । 
जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने काँग्रेसले एक्लै चुनाव लडेको थियो । विसं २०७० को चुनावमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्र जितेको काँग्रेसले यस पालि आफ्नो विरासत जोगाउन सकेन ।

कालीकोट

एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाका प्रदेश (क)र (ख)मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

प्रदेशसभा कबाट नेकपा (एमाले)का कुर्मराज शाही ११ हजार ९३५ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज शाहीले चार हजार ७८९ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी प्रदेशसभा(ख)मा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही १२ हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँगे्रेसका कालीबहादुर सहकारीले नौ हजार ३४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी शिवाकोटीले जानकारी दिनुभयो । 

प्रतिनिधिसभा तर्फको मतगणनानुसार माओवादी केन्द्रका दुर्गबहादुर रावतले १४ हजार ३८ मतले अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका भूपेन्द्रजंग शाहीले ११ हजार ४६ मत ल्याई उहाँलाई पछ्याइरहनुभएको छ । 

 

 डोल्पा

डोल्पामा वाम गठबन्धनले पूरै स्थान हात पारेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेशसभा निर्वाचन दुई क्षेत्र गरेर तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी भएको हो । प्रतिनिधिसभामा वाम गठबन्धनबाट नेकपा (एमाले)का धनबहादुर बुढा ११ हजार ७६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अंगतकुमार बुढाले तीन हजार १६७ मत ल्याउनुभएको छ । 

त्यसैगरी प्रदेश (क)मा वाम गठबन्धनबाट एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याउनुभएको छ । 

त्यसैगरी वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का वीरबहादुर शाही छ हजार ४१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेशबहादुर शाहीले दुई हजार १०५ मत ल्याउनुभएको छ । 

 बैतडी

प्रदेशसभातर्फको मत परिणाम सार्वजनिक भएको छ । गए राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार बैतडी प्रदेशसभा क्षेत्र क मा नेकपा (माओवादी केन्द्र)का प्रेमप्रकाश भट्ट तथा प्रदेशसभा (ख) मा नेकपा (एमाले)का लीलाधर भट्ट विजयी हुनुभएको छ । 

प्रदेशसभा (क) मा माओवादी केन्द्रका भट्टले १८ हजार ९३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गर्नुभएको छ । अठ्तीस हजार १८ मत खसेको सो प्रदेशमा तीन हजार १३६ मत बदर भएका थिए । 

यस्तै प्रदेशसभा क्षेत्र (ख) मा एमालेका भट्ट २० हजार ३१८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका गणेश चन्दले १५ हजार २४७ मत प्राप्त गर्नुभएको छ । अठ्तीस् हजार १५५ मत खसेको प्रदेशसभा ख मा दुई हजार ५९० मत बदर गएको थियो । 

बैतडीमा अहिले प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो प्राप्त मत परिणामअनुसार एमालेका दामोदर भण्डारी ३० हजार ११८ मत प्राप्त गरी अग्र स्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका नरबहादुर चन्दले १९ हजार ९२२ मत प्राप्त गरी उहाँलाई पछ्याइरहनुभएको छ । 

पहिलो चरणअन्तर्गत बैतडीमा यही मंसिर १० गते सम्पन्न भएको हो । एक लाख ३२ हजार ३१९ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना चुनावी प्रतिष्पर्धामा रहेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री