शुक्रबार, २७ असार २०८२

एकैदिन २१ अर्ब ७३ करोड खर्च, पुँजीगत बजेटको ५९.१३ प्रतिशत उपयोग

समयपोष्ट २०८२ असार २६ गते ११:४०


सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन गरेको पुँजीगत बजेटमध्ये असार २५ मा एकैदिन २१ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार विकास निर्माणका लागि छुट्याइएको ३ खर्ब ५२ अर्ब रुपैयाँको पुँजीगत बजेटमा उक्त दिन करिब २२ अर्ब रुपैयाँ भुक्तानी भएको हो। यो एकैदिनको खर्च हालसम्मकै उच्च भएको तथ्यांकले देखाएको छ।

Advertisement

असार २५ सम्ममा कुल पुँजीगत बजेटको ५९.१३ प्रतिशत अर्थात् २ खर्ब ८ अर्ब रुपैयाँ खर्च भएको छ। गत वर्ष २०८० को असार २५ मा १४ अर्ब ४० करोड र २०७९ को सोही दिन १४ अर्ब ७२ करोड खर्च भएको थियो। यस्तै, २०८० असार २४ मा १९ अर्ब ९९ करोड खर्च भएको तथ्यांक छ। यस वर्षको एकदिने खर्च विगतको तुलनामा उल्लेखनीय रूपमा बढी हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार आर्थिक वर्षको अन्त्यमा सरकारी खाता एक साताका लागि रोक्का हुने व्यवस्था छ। सोही कारण असार २५ मा पुँजीगत खर्च ह्वात्तै बढेको हो। महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका खाताहरू गएरातिदेखि रोक्का भएका छन्। अत्यावश्यक बाहेकका भुक्तानी अब चालु आर्थिक वर्षमा नहुने कार्यालयले जनाएको छ।

नियमावलीको व्यवस्थाअनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेका शीर्षकबाहेक अन्य रकमको भुक्तानी बन्द हुन्छ। तर, अत्यावश्यक प्रयोजनका लागि महालेखा नियन्त्रक कार्यालयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री