शुक्रबार, १४ वैशाख २०८१

‘सुरक्षाका लागि कस्तो हेलमेट लगाउने भन्ने जनचेतना जगाउन आवश्यक छ’ 

समयपोष्ट २०७६ पुष ६ गते १६:३९

Advertisement

सत्यदीप इन्टरनेसनल नेपालमा विभिन्न ब्रान्डका अटो पाट्र्स बिक्री–वितरण गर्ने प्रतिष्ठित कम्पनी हो । सुरुवातमा चार पाङ्ग्रे बस–ट्रक सेग्मेन्टमा केन्द्रित यो कम्पनी पछिल्लो तीन वर्षदेखि भारतीय चर्चित ब्रान्डहरुको एजेन्सी लिएर मोटरसाइकलको स्पेयर पाट्र्समा केन्द्रित हुँदै आएको छ । सत्यदीप इन्टरनेसनल हालै मात्र भारतीय सन्धार एमकिनले उत्पादन गरेको मेभोक्स हेलमेटको नेपालको लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ । भर्खर मात्र नेपाली बजारमा भित्रिएको मेभोक्स हेलमेटको अवस्था, यसका विशेषता र आगामी बजार रणनीतिबारे सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रसँग समयबोधले गरेको कुराकानीः

 नेपाली बजारमा मेभक्स हेलमेटको बिक्री–वितरण थाल्नुभएको छ, यसको अवस्था कस्तो छ ?

भारतीय कम्पनी सन्धार एमकिनको उत्पादन मेभोक्स हेलमेट हामीले नेपाली बजारमा बिक्री–वितरण गरिरहेका छौँ । २०१९ को अप्रिलदेखि नै भारतीय बजारमा आएको यो हेलमेट नेपाली बजारमा आएको चार–पाँच महिनामै हामी एकदम उत्साहित भएका छौँ । राम्रो क्वालिटी भएर होला, ग्राहकहरूले एकदम मन पराइरहनुभएको छ । व्यवसायको कुरा मात्र नभएर यसमा सुरक्षा पनि जोडिन्छ । यसको आफ्नै परीक्षण ल्याब छ । हाम्रा जति पनि प्रडक्टहरू छन्, सबै आईएसआई अर्थात् इन्डियन स्टान्याडर्ड, ईसीई अर्थात् युरोपियन स्ट्यान्डर्ड र डीओटी अर्थात् अमेरिकन स्टान्याडर्ड परीक्षण गर्न सकिन्छ । अहिले नेपाली बजारमा करिब ७० प्रतिशतजति हेलमेटहरू आईएसआई सर्टिफाइड छैनन् । हेलमेट सुरक्षासँग जोडिने भएकाले पनि हेलमेटबारे जनचेतना जगाउन जरुरी छ ।

भारतमा अटो मोबाइलको दुईवटा ठूला ग्रुप सन्धार जो अटो ह्विलरमा आठ हजार करोडको कम्पनी हो भने एमकिन सात–आठ सय करोडको कम्पनी हो । सन्धारले इग्निसन स्विच, मिररदेखि लिएर जति पनि ओई गाडीहरू आउँछन्, उनीहरूको बाईसवटा प्लान्टहरूबाट बन्ने गाडीहरूमा सप्लाई छ । त्यस्तै, एमकिन मोटरसाइकल, जेसीभीको ठूला सिट, हुट, क्याबिन बनाउने कम्पनी हो । दुई कम्पनीको जोइन्ट भेन्चरमा यो प्लान्ट लगाएको हो । अहिले उहाँहरूको क्षमता बीस लाख हेलमेटको हो, जुन पाइलट फ्याक्ट्री हो । भर्खरै भारतका धेरै प्रान्तहरूमा हेलमेट अनिवार्य गरिएको छ, जसले गर्दा हेलमेटको माग धेरै छ । मानिसहरू पनि हेलमेट लगाउनुपर्छ भनेर सचेत भइरहेका छन् । त्यस कारण भारतमा राम्रो सेटअप छ । मेभोक्स हेलमेटको भारतपछिको बजार नेपाल नै हो । नेपालमा पनि हामी विभिन्न रणनीति बनाएर हेलमेट बजारमा प्रवेश गरेका छौँ, सुरुवातमै हामी उत्साहित छौँ ।

यो हेलमेटका विशेषताहरू के–के छन् ?

यो हेलमेट परीक्षणको जुन आईएसआई मेथड छ, त्यो परीक्षण भएको नेपालमा पाँच–छवटा हेलमेट मात्र छ । बाँकी बाह्र–पन्ध्रवटाको कुनै परीक्षण हुँदैन । सीधै बनाएर ट्राफिकलाई छल्ने उपायले मात्र हेलमेट आउँछ । हामीले लञ्च गरेका चार–पाँचथरीका हेलमेट जुन छन्, ती आईएसआई अप्रुभ हुन् । हामीले वितरण गर्ने हेलमेट पूर्ण सुरक्षित छन् । अर्को, आजका युवाहरूको रोजाइमा पर्ने स्टाइलिस, ग्राफिक्स कलर सबै किसिमका हेलमेट हामीसँग छन् ।

नेपाली बजारमा कसरी जाँदै हुनुहुन्छ ?

सबैभन्दा पहिले ग्राहकहरूलाई कुन हेलमेट कति सुरक्षित भनेर जनचेतना जगाउने काम गर्छौं । सबैभन्दा पहिले मानिसमा सुरक्षाका लागि कस्तोखालको हेलमेट लगाउने भनेर सचेत हुनुप¥यो । नेपालभर हामी जनचेतना अभिवृद्धि गर्ने काम सुरु गर्छौं । ग्राहकहरूलाई कस्तोखालको हेलिमेट लगाउने र सुरक्षित हुने भन्ने कुरा बुझाउने हाम्रो कोसिस हुनेछ ।

नेपालको बिक्री–वितरणबाट कत्तिको उत्साहित हुनुहुन्छ ?

यो चार–पाँच महिनाको अवधिमा निकै नै राम्रो रेस्पोन्स पाएका छौँ । धेरैले मन पराएका छन् । ठूलो परिमाणमा पुगेको छैन तर देशभर सामान पुगिसकेको छ । हाम्रा केही प्राविधिक पाटोहरू मूल्यमा पनि छन् । यहाँ कम्पिटिटर प्रडक्टहरू छन् । हाम्रो इन्ट्री लेबलको प्रडक्ट आएपछि मूल्य पनि मिल्दै जान्छ । चार–पाँच महिनापछि हामीले अरू चार–पाँच प्रकारका हेलमेटहरू ल्याउँदै छौँ । जाँडो र गर्मीमा लगाउने सबै प्रकारका हेलमेटहरू आउँदैछन् ।

 

अहिले नेपालमा कति मूल्य पर्ने हेलमेटहरू छन्, इन्ट्री लेबलको मूल्य कति हुन्छ ?

इन्ट्री लेबलमा अठार सय, दुई हजारजति हुन्छ । अहिले हामीसँग पैँतीस सयदेखि पैँतालीस सयसम्मका हेलमेट छन् । ओएक्स ११ को डबल भाइजर, डिट्याचेबलवाला हेलमेटको मूल्य ३ हजार ८ सय ४१ रूपैयाँ, ओएक्स ११. डी ३ को डीभी ग्राफिक्सवाला हेलमेटको ४ हजार १ सय ७७, ओएक्स १० एसभीको २ हजार ६ सय ५२, ओएक्स १०. डी १ हाफ ग्राफिक्स हेलमेटको ३ हजार २ सय ६३ रूपैयाँ, ओएक्स १०. डी २ एसभी प्रिमियमको ३ हजार ४ सय १२ रूपैयाँ पर्छ । त्यस्तै, फुलफेसमा एफएक्स ३० म्याक्सको ४ हजार ७ सय ४५, एफएक्स ३० म्याक्स ग्राफिक्स हेलमेटको ५ हजार १ सय २८, एफएक्स २१ को सिङ्गल भाइजर हेलमेटको ३ हजार ३ सय १०, एफएक्स २१ ग्राफिक्सको ३ हजार ९ सय ८०, एफएक्स २२ को डबल भाइजर हेलमेटको ३ हजार ९ सय ४२ र एफएक्स २२ ग्राफिक्सको मूल्य ४ हजार ५ सय ५५ रूपैयाँ पर्छ ।

 

नेपालमा सबैभन्दा बढी रुचाउने कस्तो रेञ्जको हेलमेट हो ?

काठमाडौँमा धेरै धूलो भएको हुनाले बीसदेखि पैँतीससम्मको उमेर समूहले फुलफेस हेलमेट मन पराउँछन् । मानिसहरूले ग्राफिक्स डिजाइन र मोटरसाइकलको कलरअनुसार पनि हेलमेट रोज्छन् । गर्मी ज्यादा हुने स्थानमा ओपन फेस हेलमेट बढी रुचाइन्छन् ।

मेभोक्स हेलमेटमा वारेन्टी, ग्यारेन्टी के छ ?

हामीले तीन वर्षको रङको ग्यारेन्टी दिएका छौँ । हेलमेटभित्र प्रयोग भएका कपडा नचिलाउने, धुन मिल्ने अप्सन पनि छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री