शनिबार, ८ कार्तिक २०८२

थाइल्यान्डकी महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

समयपोष्ट २०८२ कार्तिक ८ गते ९:३०


थाइल्यान्डकी महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ।

Advertisement

शाही राजदरबार ब्युरोका अनुसार उनको निधन शुक्रबार राति ९:२१ बजे बैङ्ककको एक अस्पतालमा भएको हो।

सन् २०१९ देखि अस्पतालमा उपचाररत सिरिकितलाई यो महिना रगतको संक्रमणसहित विभिन्न रोगले सताएको दरबारले जनाएको छ।

महारानी सिरिकितले थाइल्यान्डका सबैभन्दा लामो समय शासन गर्ने राजा भूमिबोल अदुल्यादेजसँग ६ दशकभन्दा बढी समयसम्म वैवाहिक जीवन बिताएकी थिइन्। राजा भूमिबोलको निधन सन् २०१६ मा भएको थियो। राजा वजिरालोङ्कोर्नले शाही राजदरबार ब्युरोलाई राजकीय अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएका छन्। दरबारका अनुसार, महारानीको पार्थिव शरीरलाई बैङ्ककस्थित ग्रान्ड प्यालेसको दुसित थोर्न हलमा राखिनेछ, र शाही परिवारले एक वर्षसम्म शोक मनाउनेछ।

सिरिकितले राजा भूमिबोललाई पेरिसमा संगीत अध्ययन गर्ने क्रममा भेटेकी थिइन्, जब उनका बुबा फ्रान्सका लागि थाइल्यान्डका राजदूत थिए। सन् १९८० को बीबीसी वृत्तचित्र ‘सोल अफ अ नेशन’ मा उनले राजासँगको पहिलो भेटको अनुभव साझा गर्दै भनेकी थिइन्, “पहिलो भेटमा मलाई उहाँप्रति घृणा भएको थियो।” उनले राजा पहिलो भेटमा ढिलो आएको र आफूले कुर्सीमा बसेर बारम्बार झुकेर सम्मान गर्ने अभ्यास गरेको बताएकी थिइन्।

Advertisement

यो जोडीले सन् १९५० अप्रिल २८ मा, राजा भूमिबोलको बैङ्ककमा राज्याभिषेक हुनु एक हप्ताअघि विवाह गरेका थिए। सन् १९६० को दशकमा युवा जोडीको रूपमा सिरिकित र भूमिबोलले विश्वभर यात्रा गरेका थिए, जहाँ उनीहरूले अमेरिकी राष्ट्रपति ड्वाइट आइजेनहावर, स्वर्गीय महारानी एलिजाबेथ द्वितीय र एल्भिस प्रेस्लीलाई भेटेका थिए। त्यो दशकमा सिरिकित प्रायः अन्तर्राष्ट्रिय ‘बेस्ट ड्रेस्ड लिस्ट’ मा समावेश हुन्थिन्।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री