गौरिकाको गौरवपूर्ण प्रदर्शन: एकै सागमा चार स्वर्ण, नौ पदक

पौडीबाज गौरिका सिंहले सागको एकै संस्करणमा सर्वाधिक तीन स्वर्ण जितेर कीर्तिमान बनाएको २४ घन्टा नबित्दै अर्को रेकर्ड बनाएकी छिन् । सोमबार थप एक स्वर्ण जित्दै उनले सागमा चार स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी दीपक विष्टको कीर्तिमानमा बराबरी गरेकी हुन् । तर, दीपक विष्टले गौरिकाले जस्तो एकै संस्करणमा चार स्वर्ण भने जितेका होइनन् ।
गौरिकाले सोमबार ५८ दशमलव १३ सेकेन्डमा १ सय मिटर फ्रिस्टायल पूरा गर्दै आफ्नो चौथो स्वर्ण जितेकी हुन् । निकटतम प्रतिद्वन्द्वी भारतकी सिभांगी शर्मालाई ०.०२ सेकेन्डले पछि पारेकी हुन् ।

Advertisement

जारी सागमा गौरिकाले स्वर्णसँगै दुई रजत र तीन कास्य गरी नौ पदक जितेकी छिन् । १२औँ सागमा एक रजत र तीन कास्य जितेकी थिइन् । यो सँगै सागमा उनको कुल पदक १३ पुगेको छ । ‘मैले अब धेरैभन्दा धेरै रेकर्ड बनाउने सोचेको छु । मेरो रेकर्ड तोडिएको हेर्ने मन पनि छ,’ गौरिकाले भनिन् ।

गौरिकाले लन्डनको क्याम्देन स्विस कटेजमा एडम टेयलरसँग स्विमिङ प्रशिक्षण लिने गरेकी छिन् । १३ वर्ष दुई सय ३५ दिनको उमेरमै २०१६ को रियो ओलम्पिक खेलेकी उनले ओलम्पिकमा सहभागी हुने कान्छी खेलाडीका रूपमा विश्वव्यापी चर्चा कमाएकी थिइन् । गौरिका २०२० मा हुने टोकियो ओलम्पिकका लागि पनि छनोट भइसकेकी छिन् ।

गौरिकाको चौथो स्वर्ण हजुरबाको ‘बर्थ डे गिफ्ट’
लोकभक्त राणा भन्छन्– म भाग्यमानी हजुरबा, अब मरे पनि शान्ति मिल्छ
गौरिकाले सागमा जितेको आफ्नो चौथो स्वर्ण मावलीतर्फका हजुरबा लोकभक्त राणालाई जन्मदिनको उपहारस्वरूप दिने घोषणा गरेकी छिन् । ‘यो सफलतामा मेरो परिवार र प्रशिक्षकहरूको ठूलो भूमिका छ । मेरो हजुरबुबाको जन्मदिन भोलि छ । उहाँलाई यो पदक दिन चाहन्छु,’ १६ वर्षीया गौरिकाले सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेपछि भनिन् ।

नातिनीको सफलतामा हजुरबा राणा निकै खुसी छन् । नातिनीको सफलतामा रुन मात्रै सकेको छैन, आफूजति भाग्यमानी कोही नभएजस्तो लागिरहेको छ,’ कानुन व्यवसायी राणाले भने, ‘अब मरे पनि मलाई शान्ति मिल्छ ।’ तर, उनले विगतमा आफ्नी नातिनीलाई पौडीमा आउन नदिन धेरै षड्यन्त्र भएको भन्दै दुःख पनि बिसाए । ‘राष्ट्रिय गेम गर्ने भनेर मिति तय हुन्थ्यो । तर, गौरिका आएका वेला विभिन्न कारण देखाएर खेल नै गराउँदैनथे । उनी आइनन् भने मात्रै खेल गराउँथे । यो प्रक्रिया गत वर्षसम्म पनि निरन्तर थियो,’ उनले भने, ‘केही राम्रा व्यक्तिले विरोध चिर्ने प्रयास गरेकैले नातिनीले नयाँ इतिहास बनाएकी हुन् ।’

Advertisement

आजको नयाँ पत्रिका दैनिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री