शुक्रबार, १४ वैशाख २०८१

यसकारण साग छोडेर कतार भाँसिएकी रहिछिन् तुलसा

समयपोष्ट २०७६ मंसिर १९ गते ७:४९

Advertisement

पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका–३ स्थित भेरी नदीकिनारको ब्याओरेस्थित टायलले छाएको काठे घरको चुल्होमा आगो नबलेको साता पुग्यो ।

४४ वर्षीया मुटुरोगी पद्मा खत्रीका आँखा ओभाएका छैनन्। पद्माका पति रोजगारीका लागि मलेसिया छन्। पद्माले जेठी छोरी तुलसाको आवाज सुन्न नपाएको एक साता भयो।

देशमा अहिले १३औं दक्षिण एसियाली खेलकुद (साग) सञ्चालन भइरहेको छ। एथ्लेटिक्सकी राष्ट्रिय खेलाडी तुलसा बन्द प्रशिक्षणमै रहेका बेला रोजगारीका लागि कतार गएकी हुन्।

धेरैले तुलसालाई साग प्रतियोगिता छोडेर देशकै गरिमामा आँच पु-याएको आरोप लगाइरहेका छन् तर घरको अवस्था हेर्दा उनी रहरले नभएर बाध्यताले श्रम गर्न कतार पुगेको देखिन्छ।

पद्माका चार छोराछोरीमध्ये जेठी हुन् तुलसा। सुर्खेतको पहाडी क्षेत्र रझेनामा तुलसासहित भाइबहिनीको जन्म भयो। गाउँमा नजिक विद्यालय थिएन। छोराछोरीको शिक्षाका लागि खत्री परिवार २०६४ सालमा भेरीकिनारको ब्याओरेमा बसाइँ स¥यो।

ब्याओरेमा पाँच कट्ठा जमिन छ। आफ्नो जमिनको उब्जनीले पाँच महिना पनि खान पुग्दैन। घरखर्च चलाउन र छोराछोरी पढाउन तुलसाका बुवा भीमबहादुरले १२ वर्षदेखि मलेसियामा पसिना बगाइरहेका छन्। उनी ४५ वर्ष पुगे।

पाखुराको बलमा कमाउने उमेर पनि सकिनै थाल्यो। तुलसाकी आमा पद्मा मुटुरोगी छिन्। ‘अब तिमीहरुलाई पढाउने र आमाबुवा पाल्ने जिम्मेवारी मेरो काँधमा आएको छ,’ कतार जानु दुई दिनअघि काठमाडौंबाट बहिनी गौरीलाई फोन गरी तुलसाले भनेकी थिइन्, ‘म टाढा हुनेछु, आमाको ख्याल गर्नू।’

तुलसाका बाबु भीमबहादुरले १२ वर्षदेखि मलेसियामा पसिना बगाइरहेका छन्, आमा पद्मा मुटुरोगी छन्। तुलसाका तीन भाइबहिनी छन्। पाँच कट्ठा जमिनको उब्जनीले खान पुग्दैन। बुबाको कमाइ र आफ्नो तलबले घरखर्च पुग्न छाड्यो। ऋण थपिँदै गएपछि जेठी छोरी तुलसा साग छाडेर कमाउन कतार हानिइन्।

मंसिर २ गते पद्मा खेतमा काम गर्दै थिइन्। बिहानै काठमाडौंबाट तुलसाको फोन आयो, ‘आमा चाँडो छिन्चु (रत्न राजमार्गले छोएको बजार) जानू, बस पुग्नै लाग्यो।’ उनी हतारहतार छिन्चु पुगिन्। छोरीले बसमा पठाएका दुई ठूला झोला अटो रिक्सामा राखेर घर ल्याइन्। ‘खोलेर हेर्दा एथ्लेटिक्स अभ्यासका क्रममा लगाउने पोसाक, जुत्ता र झुल थियो,’ पद्माले भनिन्, ‘मलाई त्यही दिन नै ऊ (छोरी) बाहिर जाँदैछे भन्ने शंका लागिसकेको थियो।’ त्यसपछि पद्माले तारन्तार छोरीलाई फोन गरी घर आउन कर गरिन्। ‘तलबले औषधि र डाइट खान तथा पोसाक किन्नै पुग्दैन, अब पैसा कमाएर मात्रै घर फर्किन्छु,’ छोरीले फोनमार्फत भनेका कुरा सुनाउँदै उनले भनिन्, ‘विदेश जाने तयारी रहेछ र पो पुराना लत्ताकपडा पठाएकी रहिछ।’ नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री