शुक्रबार, १४ वैशाख २०८१

एकीकृत भन्सारको भवन निर्माणले गति लियो

rss २०७६ मंसिर १६ गते १७:४२

Advertisement

नेपाल र चीनबीचको द्विपक्षीय व्यापारलाई सहज गर्ने लक्ष्यका साथ निर्माणाधीन रसुवागढी नाकामा एकीकृत भन्सारको कामले गति लिएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार दुई देशको सीमा क्षेत्रमा पूर्वाधार विकास निर्माणअन्तर्गत शुरु भएको एकीकृत भन्सार भवन निर्माणका लागि भुइँ सतहमा जमीन सम्याई संरचनाको प्रारूप निस्किसकेकाले तीन वर्षभित्र निर्माण हुने अपेक्षा गरिएको छ ।

गत वैशाखबाट निर्माण शुरु भएको सो कार्यालय भवन निर्माण भएपछि विदेशी मुद्रा सटही, बैंक, अध्यागमन एवं आयात–निर्यातका पशु एवं कृषिजन्य सामानको गुणस्तर परीक्षण गर्ने क्वारेन्टाइन कार्यालय र सुरक्षा अङ्गका निकायलाई एकीकृत रूपमा कार्य गर्न सहज हुने छ । सो भवन निर्माणको लागतरु ५५ करोड रहेको प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो ।

एक हजार ६५८ वर्गमिटर जमीनको भूभागमा निर्माण शुरु भएको एकीकृत भन्सार भवनको प्रगति भने २५ प्रतिशत पूरा भएको निर्माणमा संलग्न रबिना कन्स्ट्रक्शनका साइट प्रमुख इन्जिनीयर योगेन्द्र हाङ्फेले बताउनुभयो ।

भवनमा डिजाइनअनुसार प्रतितला २० कोठाको संरचना हुने र माथिल्लो तलामा जाने तीनवटा लिफ्ट रहने प्राविधिकले बताएका छन् । एकीकृत भन्सार भवन नेपाली डिजाइन भएको र भवनको बाहिरी भागमा सामान परीक्षणका लागि स्क्यानर मेशिनसमेत रहने छ ।

आयात–निर्यातका सामग्री परीक्षणका लागि रसुवागढी क्षेत्रमा स्थापित यत्रतत्र रहेका सरकारी निकाय एकीकृत भएपछि सेवा प्रवाहमा थप प्रभावकारी हुने व्यापारी तथा व्यवसायीहरूले बताएका छन् ।

समुन्नत र समृद्व नेपाल निर्माण गर्ने लक्ष्य लिएको वर्तमान सरकारले भन्सार भवन निर्माणका साथै राजमार्गको स्तरोन्नति एवं सुख्खा बन्दरगाहजस्ता संरचनाको निर्माणमा एकसाथ अगाडि बढ्दा रसुवाली नागरिक उत्साहित भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री