शुक्रबार, १६ चैत २०८०

प्राविधिक शिक्षा लिने थलो बन्दै रामपुर

समयपोष्ट २०७६ मंसिर १५ गते १७:३९

Advertisement

सुशीला रेग्मी

केही वर्ष अघिसम्म माध्यमिक शिक्षा हासिल गरिसकेका पाल्पा, रामपुरका विद्यार्थीलाई प्राविधिक शिक्षा कहाँ पढ्ने भन्ने चिन्ताले सताउँथ्यो । कमजोर आर्थिक हैसियतका कारण प्राविधिक विषय पढ्ने इच्छा भएर पनि उनीहरु खुम्चिएर बस्नुपथ्र्यो । समय फेरिएको छ, अब त्यो पिरलो छैन ।

पछिल्लो समय प्राविधिक धार अन्र्तगत विभिन्न विषयका कक्षा सञ्चालनमा आएपछि यहाँका मात्र नभै अन्यत्रका विद्यार्थीको पनि रामपुर अध्ययनको थलो भएको छ । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाइने भएपछि अहिले बाहिरबाट रामपुर पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दो छ । रामपुर नगरपालिकाभित्र चार वटा विद्यालयमा प्राविधिक शिक्षाको अध्यापन हुन्छ । सिटिइभिटी मार्फत रामतुलसी माविमा तीनवर्षे डिप्लोमा तहमा कृषि बाली विज्ञान, दरैठाँटी माविमा तीनवर्षे सिभिल इन्जिनियरिङ र गंगा माविमा तीनवर्षे पशुविज्ञानका कक्षा सञ्चालित छन् ।

आधारभूत माविमा भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट कक्षा ९ देखि १२ सम्म पशु विज्ञानको कक्षा सञ्चालन भइरहेको छ । यहाँ पढ्न आउने अधिकाँश विद्यार्थी बाहिरी जिल्लाका छन् ।

सस्तो शुल्कमा गुणस्तरीय शिक्षा पढ्न पाइने भएका कारण सिभिल इन्जिनीयरिङ अध्ययनका लागि हुम्लाबाट रामपुरको दरैठाँटी माविमा आएको सत्यदेवी शाहीले बताउनुभयो ।

“हुम्लाबाट नेपालगञ्जसम्म १२ हजार रुपैयाँ हवाइ टिकट, नेपालगञ्जबाट रामपुरमा आउन गाडीमा रु तीन हजार खर्च लाग्छ, कम शुल्कमा पढ्न पाइने भएपछि रामपुरमै आएकी हुँ” – उहाँले भन्नुभयो ।
गुणस्तरीय शिक्षासँगै सस्तो शुल्कमा प्राविधिक शिक्षा पढ्न पाइने भएपछि रामपुरमै आएको इलामका अनिता खड्का बताउनुहुन्छ । “इलाममा पनि प्राविधिक शिक्षा पढ्न पाइन्छ तर, शुल्क धेरै महङ्गो पर्छ, यहाँ पढाइ राम्रो छ,” उहाँले भन्नुभयो ।
सिन्धुलीका मनोज विक पनि रामपुरमै तीनवर्षे सिभिल इन्जिनीयरिङ पढ्न आउनुभएको छ । शाही, खड्का र विक प्रतिनिधि पात्र मात्रै हुन् । उहाँहरू जस्ता अधिकाँश विद्यार्थी बाहिरी जिल्लाबाट रामपुर आई आफ्नो भविष्य बनाइरहेका छन् ।
सिभिल इन्जिनीयरिङमा दरैठाँटी मावि प्रदेश नम्बर ५ मै उत्कृष्ट नतीजा ल्याउन सफल विद्यालय पनि हो । विद्यालयले २०७२ सालमा महायज्ञ गरी २०७४ देखि सिभिल इन्जिनीयरिङको कक्षा शुरु गरेको हो ।

विद्यालयले न्यून शुल्कमा शिक्षा प्रदान गरिरहेकाले पनि आकर्षण बढ्दो छ । डिप्लोमा तह सञ्चालन भएको वर्ष २०७४ मा ३९, २०७५ मा ४४ र यो वर्ष ३७ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
पढाइ सकेसँग रोजगार पाउन सक्ने भएकाले पछिल्लो समय यहाँ प्राविधिक शिक्षाप्रति विद्यार्थी आकर्षित भएको प्रअ देवकोटाको भनाइ छ ।
पूर्वी पाल्पाकै शैक्षिक धरोहर मानिएको रामपुर नगरपालिका ५ बेझाड बजारस्थित रामतुलसी माविमा विसं २०७१ देखि तीनवर्षे डिप्लोमा तहसम्मका लागि कृषिबाली विज्ञान पठनपाठन भइरहेको छ । हाल यहाँ ६३ विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक बालकृष्ण लम्सालले भन्नुभयो – “कृषिबाली विज्ञानका लागि आवश्यक पर्ने सबै प्रयोगात्मक सामग्रीको बन्दोबस्त विद्यालयले गरेको छ ।”

गंगा माविमा तीनवर्षे पशुविज्ञान शिक्षाको कक्षा सञ्चालित छ । विसं २०७५ मा विद्यालयमा पशुविज्ञान शिक्षा शुरु भएपछि यस क्षेत्रका विद्यार्थीलाई धेरै सहज भएको प्रधानाध्यापक देवराज देवकोटाले बताउनुभयो ।

रामपुरकै आधारभुत माविमा कक्षा ९ देखि १२ सम्म पशुविज्ञान पठनपाठन भइरहेको छ । विसं २०७४ देखि शुरु भएको यो विषयमा हाल कक्षा ९ मा २२, कक्षा १० मा १८ र कक्षा ११ मा २० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक रुपनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रयोगात्मक शुल्क मात्र लिएर कक्षा सञ्चालन गर्ने गरिएको छ ।

माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि पूर्वी पाल्पाका विद्यार्थीलाई शहर पस्नुपर्ने बाध्यता थियो । अहिले भने घरदैलोमै उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको अवसर जुटेपछि विद्यार्थीलाई भौँतारिन नपरेको अभिभावक सरस्वती सोमै बताउनुहुन्छ ।
रामपुरबाट बुटवल, पोखरा, काठमाडौँ अध्ययनका लागि जाने क्रम अहिले न्यून छ भने अन्यत्रबाट रामपुर आउने क्रम बढ्दो छ ।
जिल्ला सदरमुकामदेखि करीब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुर नगरपालिकामा वस्ती बढ्दै गएसँगै यहाँका नागरिकमा चेतना बढेको छ । पाल्पामा २२ वटा विद्यालयमा प्राविधिक विषयको अध्ययन अध्यापन भइरहेको छ । सिटिइभिटी मार्फत मान्यता पाएका दश विद्यालय र शिक्षा विभागबाट अनुमति पाएका ११ र काठमाडौँ युनिभर्सिटी मार्फत एउटा विद्यालय सञ्चालनमा रहेको शिक्षा समन्वय तथा कार्यान्वयन इकाई प्रमुख रमेशराज पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री